
चिकित्सक या अस्पताल होइन, विरामी केन्द्रित सेवा प्रणाली हुनुपर्छ
डा.सुवास प्याकुरेल, हेल्र्थ कन्सर्न, संस्थापक एवं सीइओ
नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति हटाउनुपर्छ भन्ने अभियानमा रहेका डा. सुवास प्याकुरेलले नेपालमै पहिलोपटक ‘हस्पीटल नेपाल’ नामक एप्स ल्याउनु भएको हुन् । जुन एप्समा नेपालभर कार्यरत सम्पूर्ण चिकित्सक र अस्पतालको पूर्ण जानकारी छ । नेपालको स्वास्थ्य क्षेत्रलाई प्रविधिमय र सेवाग्राही केन्द्रित बनाउनुपर्छ भन्दै आउनुभएका डा.प्याकुरेल महाभूकम्प आएको बेला गाउँगाउँमा घाईते तथा विरामीको उपचार गर्न खटिनुभएको थियो । प्याकुरेल हेल्र्थ कन्सर्न नामक संस्थाको सीईओ हुनुहुन्छ । स्थास्थ्य क्षेत्रमा देखिएका कमीकमजोरी र सुधार्नुपर्ने विषयमा सिटिजन पोष्टले गरेको कुराकानी:
नेपालको स्वास्थ्य क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनुपर्छ भन्ने अभियानमा हुनुहुन्छ, नेपालको वर्तमान स्वास्थ्य क्षेत्रको अवस्थालाई कसरी नियालीरहनु भएको छ ?
नेपालको समग्र स्वास्थ्य क्षेत्र र प्रगतीलाई दुई वटा कोणबाट हेनुपर्छ । पहिलो नेपालले प्राथमिक उपचारमा गरेको उल्लेख्य प्रगती र अर्को दक्ष जनशक्ति तथा भौतिक पूर्वाधार विकास । जुन एकदमै सकारात्मक छ । प्राथमिक उपचारको कुरा गर्दा बालमृत्यु र मातृमृत्यु दरलाई घटाएर नेपाल उदारणीय मुलुक बनेको छ । ग्रामिण तहमा काम गर्ने महिला स्वयम् सेविकाले खेलेको भूमिकालाई विश्वले नै सह्राना गरेको छ । त्यस्तै, १८ हजारको संख्यामा चिकित्सकहरुको उत्पादन हुनु, ४ हजारको संख्यामा विशेषज्ञ हुनु र नेपालमै डीम, एमसीएच जस्ता अति विशिष्ट सेवा कोर्स सञ्चालनु हुुनु सुखत सन्देशका रुपमा लिनुपर्छ । नेपालमै १८ वटा मेडिकल कलेज र साँढे चार सयको हाराहारीमा अस्पताल हुनु भनेको स्वास्थ्य क्षेत्रमा देखिएको आशा लाग्दो परिवर्तन हो ।
नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पुर्नुृपर्ने ‘खाडल’ चाहिं के हो जस्तो लाग्छ ?
स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने ‘ग्याप’ प्रशस्त छ । नेपालको स्वास्थ्य क्षेत्रमा देखिएको पहिलो ग्याप नै ‘हामीले खाना बनायौं तर पस्किन जानेनौं’ । पस्किने संस्कार अथवा हामीसँग भएको सेवा–सुविधालाई दिन नजान्नु ठूलो ग्याप हो । नेपालमा चिकित्सक र अस्पताल केन्द्रित सेवा प्रणाली छ । विश्व स्वास्थ्य मानचित्र हेर्ने हो भने चिकित्सक वा अस्पताल केन्द्रित सेवा प्रणाली नभई विरामी केन्द्रित भएको देखिन्छ । विश्व परिदृश्यमा सेवाको अन्तिमा मापदण्ड विरामीको सन्तुष्टिलाई लिइन्छ । विरामी केन्द्रित सेवा नहुनु नै स्वास्थ्य क्षेत्रमा देखिएको ठूलो ग्याप हो ।
स्वास्थ्य क्षेत्रमा देखिएका अन्य समस्यालाई कसरी सुधार्नु सकिन्छ, यहाँको धारणा के छ ?
अहिले प्रमुख समस्या भनेकै संयोजन अर्थात व्यवस्थापनको हो । जसरी नेपालभूमि आफैंमा राम्रो छ,त्यसरी नै मुलुकको व्यवस्थापन भएको छैन् । ठिक त्यस्तै भएको छ स्वास्थ्य क्षेत्र पनि । यस क्षेत्रमा व्यवस्थापकीय चुस्तताको कमि देखिएको छ । कुनैपनि नीति र रणनीति बनाउँदा तथ्य, तर्क र विज्ञताको कदरमा आधारित हुनुपर्छ । नीति ल्याउँदा सिमित कर्मचारीतन्त्रको समूह र पर्दा पछाडिबाट ल्याएको जस्तो देखिन्छ । नेपाल सन्दर्भमा एउटा ‘थिङ ट्यांक’ समूह जसले तथ्य, तर्क र विज्ञता ल्याउन सकोस् । दोस्रो, अन्तिम सेवाग्राही जनता हुन् । स्वास्थ्य भनेको यस्तो क्षेत्र हो जसलाई नछोएको कुनै वर्ग, उमेर, लिंग, जातजाती र तप्का हुन्न् । अहिलेसम्म जनमत संकलन गरी स्वास्थ्य क्षेत्रको चाहाना र धारणा बटुल्ने काम भएको छैन् । सर्वसाधारण र विज्ञहरुको धारणा विना नै ल्याइएको नीति, कानुन र परिवर्तनले आम जनतालाई छुन्न् । स्वास्थ्य क्षेत्रको नीतिगत तहमा देखिएको प्रमुख ग्याप नै यहि हो ।
- एम्बुलेन्स काम नलाग्ने खटरा गाडीलाई बनाउने होइन, त्यस्ता एम्बुलेन्समा विरामी अस्पताल पुर्याउँदा थप विरामी हुने मात्र होइन, ज्यान बचाउनै मुस्किल पर्छ । ट्यांका जस्ता एम्बुलेन्समा कोचिएर बस्नुपर्ने, सुविधा नभएका त्यस्ता एम्बुलेन्स नेपालीले मात्र चढ्नु पर्ने किन ? एम्बुलेन्स जस्तो संवेदनशिल विषयमा नीति खोइ ? अत्याधुनिक सेवासहितको एम्बुलेन्स सञ्चालन गर्न किन सकिरहेका छौनौं ? सेवाग्राहीको मन यहाँ पनि छुनुपर्छ ।
- ‘व्यवस्थापन भनेकै सवै विषयलाई मिलाएर पस्किने संस्कार हो । स्वास्थ्य सेवा पनि त्यहि हो । यो सेवाग्राहीले महसुस गर्ने विषय हो । नेपालमा एक नम्बरको ‘ग्याप’ नै पस्किने संस्कारमा छ । जसलाई म पुन: भन्न चाहान्छु । स्वास्थ्य सेवा भनेको जनतालाई दिइने कुरा हो । त्यो सेवाग्राहीले महसुस गर्न पाउनुपर्छ । हामीसँग अमृत नै भएपनि जवसम्म सेवाग्राहीले अमृतपानको महसुस गर्न पाउँदैनन, तबसम्म केही हुन्न । उखान छ नि ‘लासामा सुन छ, कान बुच्यै’ त्यस्तै ।’
तपाई एउटा चिकित्सक नभई सेवाग्राही भएर भन्नुपर्दा सवै भन्दा ठूलो समस्या कहाँ देख्नु हुन्छ ?
म त्यो प्राथमिक सेवामा नभई आकस्मिक सेवामा देख्छु । प्राथमिक सेवा अन्य मुलुक र दातृ निकायले पनि दिन सक्छ । तर आकस्मिक सेवा आफ्नै मुलुकले दिने हो । कोही अचानक विरामी पर्यो भने आत्तिनु सिवाय विकल्प छैन् । किन भन्दा नेपालमा भएको एम्बुलेन्स प्रणाली राम्रो छैन् । आजभोली एम्बुलेन्स कमिशन र तस्करी प्रयोजनमा प्रयोग भएको सुनिन्छ । नुवाकोटस्थित २५ बेड भएको एक अस्पतालमा १३ वटा एम्बुलेन्स थिए । ति एम्बुलेन्स कुन प्रयोजनका लागि राखियो ? खोजी हुनुपर्छ कि पर्दैन् । एम्बुलेन्स काम नलाग्ने खटरा गाडीलाई बनाउने होइन, त्यस्ता एम्बुलेन्समा विरामी अस्पताल पुर्याउँदा थप विरामी हुने मात्र होइन, ज्यान बचाउनै मुस्किल पर्छ । ट्यांका जस्ता एम्बुलेन्समा कोचिएर बस्नुपर्ने, सुविधा नभएका त्यस्ता एम्बुलेन्स नेपालीले मात्र चढ्नु पर्ने किन ? एम्बुलेन्स जस्तो संवेदनशिल विषयमा नीति खोइ ? अत्याधुनिक सेवासहितको एम्बुलेन्स सञ्चालन गर्न किन सकिरहेका छौनौं ? सेवाग्राहीको मन यहाँ पनि छुनुपर्छ ।
आकस्मिक सेवा लिन अस्पताल पुगेपछि तुरुन्तै पाउनुपर्छ । सर्वोच्च अदालतले विरामीलाई आकस्मिक सेवा लिनबाट बन्चित गर्न नपाइने फैसला गरेको थियो– ‘विरामीलाई अनिवार्य स्विकार गर्नु वा तुरुन्तै रेफर गर्नुपर्ने ठाउँमा गर्नु भन्ने ।’ जुन स्वागतयोग्य छ । तर सेवा लिन जाँदा तत्काल पैसा हुन्छ भन्ने छैन, त्यो नभए पहिला उपचार हुनु पाउनुपर्छ । यस विषयमा एउटा छुट्टै नीति आवश्यक छ । स्वास्थ्य विमा गरेको होस या नहोस्, आकस्मिक सेवा राज्यबाट निशुल्क गरिनुपर्छ । आकस्मिक सेवामा शुल्कको चिन्ता नगर, पहिला उपचार गर भनिदिनु पर्यो । स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गरिरहनु भएका युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापालाई यस विषयमा ध्यानाकर्षण गराउन चाहान्छु । अब क्रिटिकल केयरको कुरा गरौं, चिकित्सककै परिवार सेवा लिन अस्पताल जाँदा पनि चिन्तित हुनुपर्ने बाध्यता छ–‘राम्रो सेवा पाउँछु कि पाउन्न भन्दै ।’ अहिले ६० हजारको औषधी मगायो, भोली झन बढी औषधी मगाउँछ । त्यो औषधी वा उपचार किन र कुन प्रयोजनका लागि हो ? विरामीका आफन्तले जान्न पाउने कि नपाउने ? के भाको हो ? कसरी उपचार गर्न लागिएको छ ? के औषधी प्रयोग हुँदैछ ? त्यसको सूचना विरामीका आफन्तले पाउनु पर्छ कि पर्दैन् ? तर नेपालमा त्यसो गरिन्न । स्वास्थ्य सेवालाई प्रत्यक्ष सरोकार राख्ने तत्व नै औषधी हो । औषधीको विषयमा मुल्यदेखि गुणस्तरसम्म सर्वसाधारणलाई जानकारी दिने व्यवस्था गरिनुपर्छ । त्यसो नभएसम्म ढुक्क हुने अवस्था छैन् ।
भनेपछि हामीसँग सेवा–सुविधा लिने ठाउँ छ तर कसरी दिने भन्ने कुरामा सहि व्यवस्थापन भएको छैन भन्नु खोज्नु भएको हो ?
व्यवस्थापन भनेकै सवै विषयलाई मिलाएर पस्किने संस्कार हो । स्वास्थ्य सेवा पनि त्यहि हो । यो सेवाग्राहीले महसुस गर्ने विषय हो । नेपालमा एक नम्बरको ग्याप नै सेवा पस्किने तरिकामा छ । जसलाई पुन: भन्न चाहान्छु । स्वास्थ्य सेवा भनेको जनतालाई दिने कुरा हो । त्यो सेवाग्राहीले महसुस गर्न पाउनुपर्छ । हामीसँग अमृत नै भएपनि जवसम्म सेवाग्राहीले अमृतपानको महसुस गर्न पाउँदैनन, तबसम्म केही हुन्न । उखान छ नि ‘लासामा सुन छ, कान बुच्यै’ त्यस्तै । हामीसँग भएका उपलब्धी सेवाग्राहीले अफर गर्न सक्नेगरी पस्किन सकिरका छैनौं । म आफैं मेडिकल फिल्डको भएर पनि मैले राम्रो सेवा पाउँछु भन्नेमा ढुक्क छैन् । अस्पताल जाने भन्ने वित्तिकै सवैको मन कताकता गह्रौं हुन्छ । त्यस्तै, अस्पतालमा के के सुविधा कहाँ पाउन सकिन्छ भन्ने प्रष्ट जानकारी हुन्न् । विश्व स्वास्थ्य सेवाको आमअवधारणा ‘पब्लिक फस्ट, पेसन्ट फस्ट’ नेपालमा पनि लागू हुनुपर्छ । तात्पर्य के हो भने विरामी अस्पतालमा आएपछि कसरी लिने, कसरी सहज बनाउने, जानकारी माग्यो भने के दिने ? ल्यावमा जानुपर्दा कता पठाउने ? यि कुराको व्यवस्थापन अस्पताल स्वयम्ले गुर्नपर्छ । सवै कुरा अस्पतालभित्रकै आन्तरिक संयन्त्रबाट हुनुपर्छ । मानौं, सेवाग्राही दौडिनु पर्यो भने २३ नम्बरको कोठा भनेको हुन्छ, त्यो कोठा कता छ ? विरामी र उसका आफन्तलाई थाहा हुन्न । अस्पताल निर्माण बेलादेखि नै यि सेवा सहज दिने परिकल्पना बुन्नुपर्छ । अनि मात्र सेवामा सुधार आँउछ । ‘पब्लिक फस्ट, पेसन्ट फस्ट’ विरामी केन्द्रित मोडलबाट सेवा दिनुपर्छ ।
सरकारी र नीजि दुवै अस्पतालमा देखिएका विकृति ‘लाक अफ ट्रिट्मेन्ट एण्ड ओभर ट्रिट्मेन्ट’ बारे यहाँको के राय छ ?
मैले यस विषयमा बास्तविकता बोल्नैपर्छ । सेवाग्राहीले यस्ता गुनासा गरिरहेका छन् । म यो कुरा मान्छु । मैले भनिसके ‘सेवा पस्किने प्रणाली’ चाहियो । पस्किने तरिका राम्रो भएमा सुधार आउँछ । सेवाग्राहीले सहज जानकारी पाउन सक्ने संयन्त्र र मुल्य पारदर्शिता विधि अपनाउनुपर्छ । चिकित्सक टोलीले विरामीलाई यो यो भएको छ, तपाईलाई यो पद्धतिबाट उपचार गराउँदै छौं, यो पद्धतिमा उपचार गर्दा यो औषधीको प्रयोग हुन्छ भन्नुपर्छ । त्यसो भएमा ‘लाक अफ ट्रिट्मेन्ट एण्ड ओभर ट्रिट्मेन्ट’ समस्याको संवोधन हुन्छ ।
स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति मुलुकबाट बाहिरिने क्रम तीब्र छ, यो किन भइरहेको छ ?
एकदमै सहि प्रश्न गर्नु भयो । अपुष्ट तथ्याङक अनुसार करिब १५ सय चिकित्सकहरु अमेरिकामै रहेको बताइन्छ । तर यो समस्या यहाँ मात्र होइन, विश्वभर बढिरहेको छ । यसलाई नीति र रणनीतिले छेक्न सकिन्छ जस्तो मलाई लाग्छ । पहिला ‘ब्रेन ड्रेन’ भन्ने शब्द प्रचलित थियो । अब ‘ब्रेन गेन एण्ड सर्कलेशन’ भन्नुपर्छ । भारत र चीनले यसका लागि ठूलै धनराशी खर्च गरेका छन् । विशेज्ञता हासिलपछि आफ्नै मुलुकमा सदुपयोग भएको छ । चिकित्सकको हकमा भारतले मेडिकल टुरिज्जममा ठूलै प्रगती गरेको छ । मतलब उसले स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य प्रगति छ । कसरी संभव भयो भन्दा अमेरिका र बेलायमा अभ्यास गरेका चिकित्सकलाई स्वदेश फिर्ता गरेर संभव भएको हो । अमेरिकामा रहेका नेपाली चिकित्सकलाई स्वदेश फिर्ता गर्न नसकेपनि सरकारले नीति र योजना बनाउँदा उनीहरुलाई प्रविधि, आइडिया, अनुसन्धान र एकेडेमी क्षेत्रमा सदुपयोग गर्न सक्नुपर्छ । मलाई लाग्छ अहिलेको स्वास्थ्यमन्त्री यस विषयमा जानकार हुनुहुन्छ । स्वास्थ्य क्षेत्रमा हामी आमुल परिवर्तनको आशामा छौं, सायद त्यो अब उहाँबाट पुरा हुन्छ ।
प्रतिक्रिया