
‘मेरो चुनावी एजेण्डा जित्ने आधार हो’
अभिमानसिंह बस्नेत, प्रत्यासी अध्यक्ष : एनआरएनएका उपसभापति तथा एनआरएनए कुइन्सल्याण्डको संयोजक भएर काम गरिसकेका अभिमानसिंह बस्नेत अध्यक्ष पदका लागि प्रमुख दावेदार हुन् । बस्नेत नेपाल टेलिभिजनका पूर्व कार्यक्रम उत्पादक तथा निर्देशक पनि हुन् । उनी अहिले ईलाइट होम लोनमा कार्यरत छन् । एनआरएनएको असार २४ गते हुन लागिरहेको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी बस्नेतसंग सिटिजन पोष्टले गरेको कुराकानी प्रस्तुतः
गैरआवसीय नेपाली संघ अष्ट्रेलियाको आगमी असार २४ गते हुने निर्वाचनमा उम्मेदवारी घोषणा गर्नु भएको छ, यहांका संभावना कत्तिको देख्नु हुन्छ ?
हजुर । यही असार २४ गते एनआरएनएको नेतृत्व चयनका लागि निर्वाचन हुंदै छ । मैले पनि नेतृत्वको लागि उम्मेदवारी घोषणा गरेको छु र संभावना पनि देखेको छु । सवैलाई सहयोग र साथको लागि आग्रह गर्दछु ।
एनआरएनएको नेतृत्वका लागि भइरहेको निर्वाचनमा सहमति वा उम्मेदवारी फिर्ता हुने संभावना छ कि ?
उम्मेदवारी घोषणा भइसकेको अबस्था छ । यो अबस्थामा कुनै त्यस्तो संभावना मैले देख्दिन । अब निर्वाचन हुन्छ र निर्वाचनबाट नै यसको छिनोफानो हुनुपर्छ भन्ने मलाई लाग्छ ।
एनआरएनएको अध्यक्ष पदका लागि प्रत्यासी हुनुुहुन्छ, तपाईको उम्मेदवारी किन ?
सर्वप्रथम, हामी केही बन्न हैन, नेपाली समूदायको लागि केही गर्न एनआरएनएसंग जोडिएका हौं । प्रवासमा एनआरएनएसंग आवद्ध हुंदै गर्दा ब्यक्तिगत रुपमा हामीले पाउने भनेको आत्मसम्मान र आत्मसन्तुष्टि हो । त्यो भन्दा बढि नेपाली समुदायसंग सहकार्य र सामिप्यता मात्र हो । मेरो उम्मेदवारी समग्र नेपालीलाई एक बनाई विश्वभर रहेका नेपाली समुदायको शिर उच्च बनाउनका लागि हो । विगतमा पाएको अनुभव र गल्तीबाट सिकेर नयां दिशा निर्माण गर्नका लागि हो ।
गैरआवसीय नेपाली संघ अष्ट्रेलियाका लागि यहांलाई के योगदान दिए जस्तो लाग्छ ?
मैले सकेको योगदान हिजो पनि दिएको छु, आज पनि दिनेछ र भोली पदमा भए पनि नभए पनि दिनेछु, यो मेरो प्रतिवद्धता हो । जब म एनआरएनए कुईन्सल्याण्डको संयोजक पदमा थिए, त्यतिवेला मैले गरेका केही काम राख्न चाहान्छु ।
एमआरपी पासपोर्ट सम्बन्धि विविध जानकारीका लागि दुताबास कै मुख ताक्नु पर्ने वा घन्टौ फोन सम्पर्कका लागि रहनुपर्ने स्थितिलाई न्यूनीकरण गर्दै ब्रिसबेनमै दुताबासका प्रतिनिधिको उपस्थितिमा जानकारी मुलक कार्यक्रम १९ अगस्त २०१५ का दिन सम्पन्न भएको थियो । जेलमा बाबुआमासंगै कष्टकर जीबन बिताउंदै आएका बाबु–नानीको उद्दार गरि निनका शिक्षा र लालनपोषणमा लागेकी समाजसेवी एवं सीएनएन हिरो अवार्डबाट सम्मानित पुष्पा बस्नेतसंग २१ सेप्टेम्बर २०१५ मा भेटघाट गर्दै उनको परोपकारी अभियानमा सकेको तनमनले सहयोग र सहयोग गर्ने प्रतिबद्दता गरेका थियौं । धेरै उतार चढावका बाबजुद पनि नेपालले संघीय गणतत्र नेपालको संबिधान २०७२ पाएको खुशीमा एनआरएनए कुइन्सल्याण्डको आयोजनामा २३ सेप्टेम्बर २०१५ मास्वागत तथा दिपावली कार्यक्रमको आयोजना भएको थियो । कुइन्सल्याण्डमै रहेका विभिन्न कम्यूनिटी संस्थाहरु र समुदायका सदस्यहरुबीच एक २६ सेप्टेम्बरका दिन एक अन्तरक्रिया ग¥यौं । साथै, भारतबाट गरिएको तत्कालिन अघोषित नाकाबन्दीबिरुद्ध संसारभर बाट उठेका आवाजमा ऐक्यबद्दता जनाउंदै २० नोभेम्बर २०१५ का दिन शान्तिपूर्ण ¥यालीको आयोजना भएको थियो । आफ्ना सन्ततीहरुलाई अस्ट्रेलियामा भेट्न आएका अभिभावकहरुलाई सम्मान गर्दै पिकनिक कार्यक्रम आयोजना गरिएको भएको थियो । अस्ट्रेलिया अध्ययरत बिद्यार्थीहरुलाई दुखसुखमा साथ र सहयोग गर्ने उदेश्यबाट स्थापना गर्न खोजिएको बिद्यार्थी कल्याणकारी कोषका लागि फन्ड राइजिङ्ग गर्ने उदेश्यले ब्रिसबनमा ‘वाक फर वेलफियर’ कार्यक्रम भएको थियो । त्यसैगरी, नयाँ बर्ष २०७३ को उपलक्ष्यमा अप्रिल २०१६ मा शुभकामना आदानप्रदान कार्यक्रम भयो भने नेपालमा विनाशकारी भुकम्पमा ज्यान गुमाएकाहरुको सम्झना र अंगभंग भएकाहरुको स्वास्थ लाभ र शान्तिको कामना गर्दै 'Pray for peace’ कार्यक्रम आयोजना भएको थियो । बिराटनगर महानगरपालिकामा बन्दै गरेको पाथिभरा श्रद्दाश्रमको सहयोगार्थ फन्ड राइजिङ्ग कार्यक्रम सम्पन्न गरियो भने कुइन्सल्याण्डमा नेपाली सामुदायिक भवनको अपरिहार्यतालाई महसुस त्यसको अबधारणा सम्बन्धि एक कार्यशाला गोष्ठीको पनि आयोजना गरिएको थियो । अस्ट्रेलियाभर रहेका अग्रजहरुको उपस्थितिमा एनआरएनए अस्ट्रेलिया अन्तर्गत ‘स्किल, नलेज एण्ड इनोभेसन’ सेमिनार भएको थियो । नेपाल फेस्टिभलको पूर्व सन्ध्यामा बिर्सवनका मुख्य स्थलहरुको परिक्रमा गर्दै नेपाल फेस्टिभल परेड सम्पन्न गरेका थियौं भने ब्यापक सहभागिताबीच फेस्टिभल सम्पन्न भएको थियो । त्यस्तै, गत डिसेम्बरमा ‘नेपाल सरकारका पोलिसी र एक्सन प्लान’ बिषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । मैले के योगदान दिए भन्दा पनि एनआरएनएलाई क्रियाशिल बनाउन आफू सधै क्रियाशिल रहेको बताउन चाहन्छु । मैले गरेको यि कामको सवैले मुल्याङकन गनुृहुन्छ भन्ने मलाई पूर्ण आशा छ ।
गैरआवसीय नेपाली संघ अष्ट्रेलिया लागि भावी योजना के छन् ? तपाईलाई भोट दिने आधार के हुन जस्तो लाग्छ ?
एनआरएनए कुइन्सल्याण्डको संयोजक र एनआरएनए अस्ट्रेलियाको उपसभापति रहेर गरेको अनुभब मसंग छ । सबैको सुझाव र सल्लाह नै मेरो मार्गदर्शन मैले मानेको छु । सोहीअनुसार मैले अस्ट्रेलियाभर एनआरएनएका अंग्रजहरु, युवा बुद्धिजीबी साथीहरु र धेरै भन्दा धेरै संघसंस्थाका सदस्यहरुसंग औपचारिक र अनौपचारिक छलफल गरेको छु । मैले मेरा चुनावी एजेण्डा अर्थात आगामी योजना पनि त्यसै छलफल, सुझाव र सल्लाहलाई आधारित बनाएको छु । जसलाई म बुंदागत प्रस्तुत गर्नु चाहान्छु ।
१) नेपाली नागरिकताको निरन्तरता लागि पहल गर्ने ।
२) सामूहिक लगानीको बाताबरण बनाउन पहल गर्ने ।
३) एनआरएनएको आफ्नै भवन बनाउने कार्यको थालनी गर्ने ।
४ ) आप्रवासी विद्यार्थीहरुको लागि सूचना केन्द्रको स्थापना गर्ने ।
५ ) संभव भएसम्मका स्थानमा नेपाली सामुदायिक भवन निर्माणका लागि पहल गर्ने ।
६) कल्याणकारी कोषको क्षमता वृद्धि गर्ने ।
७ ) एनआरएनए अष्ट्रेलियाको सदस्य संख्या कम्तिमा २० हजार पुराउने लक्ष्य राख्ने ।
८) एनआरएनएको सदस्यताको लागि देखिएको बर्तमान बिबादलाई कम गर्न बिधानलाई पहिलो बर्षमा नै परिमार्जन गर्ने ।
९) एनआरएनएको निर्वाचनलाई सकेसम्म कम झन्झटिलो बनाउन अनलाईन भोटिङ्ग सिस्टमको व्यवस्था गर्ने ।
१० ) प्रत्येक राज्य समितिले ल्याएका योजना र एजेन्डाहरुलाई कार्यन्वयन गर्न राष्ट्रिय समितिले पूर्णरुपमा सहयोग गर्ने ।
११) एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिको बिश्व सम्मेलनले पारित गरेको कार्यहरुलाई स्थानीय तहसम्म पु¥याउनेलगायत मेरा मुख्य एजेण्डा हुन् ।
अन्त्यमा, तपाई अष्ट्रेलियन नेपाली मतदाताका लागि के भन्न चाहानु हुन्छ ?
हुन त, मेरो एनआरएनएसंगको सहयात्रा इतिहास ४ बर्षको मात्रै हो । यो छोटो समयमा मलाई नेतृत्व तहमा बिश्वास गर्ने, बिगतका एनआरएनए गतिबिधिहरुमा निःशर्त सहयोग गर्ने सबैमा पुनः हृदयदेखि नै धन्यवाद दिन चाहान्छु । आउने दिनमा तपाईहरुको म प्रतिको बिश्वासमा रति भर कम हुन नदिन मेरोतर्फबाट हदैसम्मको प्रयास हुनेछ र प्रतिबद्दता गर्दछु । अनुभबबाट खारिदै जादां बिगतमा केही कमीकमजोरी भएको भए आगामी दिनमा सुधार्दै लैजाने प्रयास गर्नेछु । अहिले तपाईहरुको सहयोग मलाई चाहिएको छ, मलाई साथ दिनुहोला ।
प्रतिक्रिया