
अख्तियारको क्षेत्राधिकार मिच्दै सर्वोच्चः शर्माको मुद्दा यथास्थितिमा राख्ने आदेश
काठमाडौँ, ४ साउन । सर्वोच्च अदालतले महानिर्देशक चूडामणि शर्माविरुद्धको विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा यथास्थितिमा राख्न आदेश दिएको छ । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक शर्माको भ्रष्टाचार मुद्दा सुनवाई गर्दै न्यायाधीशद्धय चोलेन्द्रशमशेर जवरा र प्रकाश राउतको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । न्यायाधीशद्धयले विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले बताएका छन् । शर्माको मुद्दामा गम्भीर कानुनी जटिलता देखिएको भन्दै सर्वोच्चले सो मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको उलने बताए ।
बन्दी प्रत्यक्षीकरण रिटको खेलः
शर्माकी श्रीमती कल्पना उप्रेतीले बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेकी थिइन । उनले विशेष अदालतलाई विपक्षी बनाई गत असार २७ गते गैरकानुनी थुनामा शर्मालाई राखेको भन्दै रिहाइको माग गरेकी थिइन । शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले पनि उनी थुनामा छन् ।
शर्माविरुद्ध अख्तियारको आरोपः
शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुंदा पुंजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्यौट आयोगको सदस्य–सचिवसमेत रहेका शर्मामाथि २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप छ । तस्बीरः गुगल फाइल
प्रतिक्रिया