
‘गोर्खाको जीत नै मेरो जीत हो’
हिराधन राई, प्रत्यासी अध्यक्ष, एनआरएनए यूके /
खोटाङ जिल्लाको बासपानीमा जन्मिएका हिराधन राई समाजसेवी मणिप्रसाद राईका साइँला छोरा हुन् । राईले गाउँकै विद्यालयबाट ०४२ सालमा एसएलसी उत्तिर्ण गरे । त्यसपछि उच्च शिक्षा हासिल गर्न धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएका हिराधन ०४४ सालमै ब्रिटिश आर्मीमा भर्ना हुन पुगे । हङकङमा सैन्य तालिम सकेर १८ बर्ष सेनामा विताउंदा उनले विभिन्न तालिमसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थुप्रै पदक प्राप्त गरे । ब्रिटिश आर्मीमा १० बर्ष पिटिआईका रुपमा काम गरेका राईले तत्कालिन समयमा अफगानिस्तानस्थित संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय शान्ति सेनामा प्रशिक्षकका रुपमा समेत सेवा गरे । अहिले सोही संयुक्त राष्ट्रसंघीय पदक एवं फरक राष्ट्रका कार्य अनुभवलाई अन्य क्षेत्रमा समेत उनले सदुपयोग गरिरहेका छन् । १८ बर्षीय लामो सैनिक सेवामा रहँदा तेक्वान्दो मुख्य प्रशिक्षकका रुपमा पनि उनले समय विताए । खेलबाबट अनुशासन र नेतृत्व विकासमा धेरै अध्ययन र अनुभव हासिल गरेका राईले अध्ययनलाई जीवनको अभिन्न अंग मान्दै हालै व्यवस्थापन विषयमा स्नातक गरेका छन् । सैनिक सेवालाई रोजीरोटीको रुपमा भन्दा पनि अवसरका रुपमा लिने राईले हङकङ, ब्रनाई, बेलिज, सियरालियोन, कोसोभो, साइप्रस, जर्मनी, केन्या, अमेरिका, क्यानाडा, फोकल्याण्ड, मेसोडोनिया, इराक, अफगानिस्तान, स्पेन, फ्रान्स, अष्ट्रेलियालगायत दुई दर्जन भन्दा बढी राष्ट्रको भ्रमण गरेका छन् । जीवनमा धेरै आरोह–अवरोह पार गरेका उनै राईसंग एनआरएन यूकेको आगामी सेप्टेम्बर ९ मा हुन लागिरहेको निर्वाचनलाई मध्यनजर राखि सिटिजन पोष्टले गरेको कुराकानीः
सेप्टेम्वर ९ मा हुन लागिरहेको गैरआवसीय नेपाली संघ यूकेको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ, तपाईंको उम्मेदवारी किन ?
–घरदेशबाट परदेशमा आई विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीको भावना, चाहना र सपनाको प्रतिबिम्बित साझा संस्था हो–गैरआवासीय नेपाली संघ (एनआरएन ) । एनआरएनले आफ्नो अभियान सञ्चालन गरेको १३ बर्ष भन्दा बढी भइसक्यो । अहिले हामी अहिले ७ औं महाधिवेशनको संघारमा छौं । विविध धर्म, संस्कृति, भाषा, पेशा, व्यवसाय, भूगोल र वर्गको अनेकतामा एकता एनआरएन यूकेको पहिचान हो । मातृभूमिको सेवा गर्ने पवित्र उद्देश्यले नेपालीको हकहितको आवाजलाई संस्थागत गर्दै बुलन्द पार्ने यो महान् अभियानमा संलग्न मेरा आदरणीय अग्रज गुरुहरुको कार्यशैलीबाट धेरै कुरा सिक्ने र पे्ररणा लिने सुनौलो अवसर प्राप्त भयो ।
त्यस्तै आफू पनि विभिन्न कोणबाट यस यात्रामा अनबरत खटिने मौका पाएकै छु । एनआरएनको यो ओरोह–अवरोहमा धेरै कुरा सिक्न पाएं । ती भोगाई र सुझावलाई एउटा मार्ग निर्देशक मान्दै, एनआरएनलाई सबै नेपालीको साझा र आत्मीय संस्था बनाउनका लागि अब नयाँ शिराबाट आगाडि बड्नु पर्छ भन्ने मेरो निष्कर्ष हो । एनआरएनको उद्देश्यलाई प्राथमिकतामा राख्दै अब हुने एनआरएन यूकेको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरको हुं । मेरो घोषणा पत्रको मर्म नै हरेक नेपालीबीच एकता हो । हामीमाँझ विविधतामा एकता छ, जसलाई म एकताको संकेत भनेर सम्बोधन गर्न चाहन्छु । मेरो प्रतिबद्धता–‘विविधतामा एकता, एनआरएन यूकेमा मेरो प्रतिबद्धता ।’
निर्वाचनका लागि उम्मेदवारी त घोषणा गर्नु भयोे, तर तपाईका प्रमुख चुनावी एजेण्डा चाहिं के हुन् ?
–आफ्नो विदेश यात्रा भनौं वा आफ्नो जीवनको थालनी भनेको गोर्खा पल्टनबाट भएको हो । त्यसैले मेरो जीवन गोरखा आन्दोलन वा गोर्खासँगको मुद्दाबाट अलग हुनु भनेको मेरो जीवन नै नहुनु सरह ठान्दछु । तसर्थ, गोर्खाको जीत नै मेरो जीत हो । गोर्खाको समस्या समाधान नहुञ्जेल आफू गोखासँग सम्बन्धित कुनै पनि मुद्दामा सहकार्य गरी अगाडि बढ्न तयार छु । नेपाल हाउस यूके निर्माण गर्ने कार्यलाई विशेष प्राथमिकता दिँदै र्लाप्राक बस्ती निर्माण र एनआरएन हाउस निर्माण अभियानमा विशेष सहयोग गर्नेछु ।
तपाईलाई एनआरएन यूकेको बर्तमान प्रमुख चुनौती के के भए जस्तो लाग्छ ?
–‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने हाम्रो मूल भावना समेटिएको ‘गैरआवासीय नेपाली नागरिकता’ राजनीतिबाहेक सबै अधिकार पाउने नागरिकता हामीले संविधानबाट प्राप्त गर्न सफल भएका छौं । तर अहिलेको अवस्थामा प्राप्त उपलब्धि कार्यान्यन गराउनु उत्तिकै चुनौतिपूर्ण छ । उपलब्धिको रक्षा गर्दै बाँकी अधिकारका लागि एनआरएनले विशेष भूमिका खेल्नु पर्नेछ । यस अभियानलाई बिशेष रुपमा अगाडी बढाउने योजनाको थालनी गर्नेछु ।
यदि तपाईं निर्वाचनमा विजयी हुनुभयो भने यहांका प्रमुख कार्ययोजनाहरु के के हुनेछन् ?
म यसलाई बुंदागत रुपमा राख्न चाहान्छु ।
–एनआरएनका सदस्यलाई परिचयपत्र बनाई बिभिन्न पसल, रेष्टुरेन्ट तथा अन्य व्यवसायिक छुटको लागि गरिएको अभियानलाई प्राथमिकताका साथ अगाडि बढाउने छु ।
–एनआरएन कोषको व्यवस्था गरी पञ्जीकृत सदस्यलाई संम्भव भएसम्म आपतकालिन सहयोगको व्यवस्था गर्न पहल गर्नेछु ।
–स्वास्थ्य, शिक्षा, ट्राफिक ब्यबस्थापन, कन्स्ट्रक्सन, फुड तथा अन्य थुप्रै विधाका ज्ञाताको सुझाव र सल्लाहअनुसार दुताबाससँग समन्वय गरी नेपालमा विशेष स्किल ‘ट्रान्सफेयर’ कार्यक्रम सञ्चालनमा ल्याउनेछु ।
–बेलायतमा रहेका बौद्धिकवर्गलाई एनआरएन यूकेप्रति आकर्षण गर्न विभिन्न कार्यक्रम ल्याउने छु भने उहाँहरुको सुझाव सल्लाह बमोजिम एनआरएन यूकेलाई अगाडि बढाउने वातावरण सिर्जना गर्नेछु ।
–बेलायतस्थित सबै संघ संस्थाहरुसंग समन्वय गरेर कार्य गर्ने रचनात्मक ब्यबस्था तयार पारी सबै संस्थाको अपनत्व एनआरएनमा दिलाउन र बिकाश गर्न बिशेष भूमिका खेल्ने छु । साथै, ‘बेलायतबासी नेपालीसंग एनआरएन यूके’ भन्ने बिशेष कार्यक्रमको थालनी गरी एनआरएन यूकेमा धेरै भन्दा धेरै नेपालीहरुको सहभागिता गराउने छु । सबै नेपालीहरुलाई ‘मेरो एनआरएन’ भन्ने आत्मीयताको बिकाश गर्न बिशेष भूमिका खेल्ने छु ।
बेलायत बसोबास गर्ने युवा पिंढी र बालबालिकाका लागि कुनै योजना वा कार्यक्रम पनि सोच्नु भएको छ कि ?
अवश्य पनि छ । नेपाली बालबालिकाको आवश्यकता र रुचिलाई ध्यानमा राखी अभिभावकहरुले आफ्ना बालबालिकाका लागि नेपाली भाषा कक्षा, संगीत र खेलकुदका कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ । त्यसलाई अझ व्यवस्थित गर्नका लागि एनआरएन यूकेले विशेष च्यारिटी कार्यक्रम गर्ने छ । साथै, यूके सरकारको स्थानीय सरकारसँग समन्वय गरी आवश्यक रकमको व्यवस्था गर्न तथा नेपाली बालबालिकालाई राष्ट्रिय गीतमा भनिएजस्तै एउटै फुलको मालामा गाँस्ने प्रयत्न हुनेछ ।
दोस्रो कुरा, युवा भनेको भोलीका भबिश्य निर्धारक हुन् । हरेक युवाको प्रगति र विकाससंग हाम्रो समाज जोडिएको छ । मेरो कार्यकालमा नेपाली युवाहरुलाई लक्षितगरी बिशेष प्रकारको युवा सशक्तिकरण एवं सीपमुलक अभियानको थालनी हुनेछ । उक्त अभियानमा युवाहरुलाई लक्षित तालिम, गोस्टी तथा सेमिनार आयोजना गरी उनीहरुलाई माथिल्लो तहको काम तथा व्यापारमा प्रत्यक्ष फाईदा हुने खालको सरल र अर्थपूर्ण कार्यक्रम सञ्चालन गरिनेछ ।
एनआरएन यूके र जन्मभूमि नेपालबीचको सम्वन्धलाई बढी थप उचाईमा लैजान तपाईको भूमिका कस्तो हुनेछ ?
त्यसको लागि पनि मैले योजना तयार पारेको छु । एनआरएन समूदायको नेपालमा लगानी भित्र्याउन तथा सुरक्षित लगानीको ग्यारेन्टी गर्न पहल गर्नेछु । गैरआवासीय नेपाली संघको काठमाडौंस्थित एनआरएन भवन, र्लापाक, शंखमुललगायतका परियोजनालाई मूर्तरुप दिन अवश्य पहल गर्नेछु । भूतपूर्व गोर्खालगायत गैरआवासीय नेपालीहरुको पूर्णअधिकार सहितको नागरिकताका लागि निरन्तर अभियान चलाउने छु । त्यसका अतिरिक्त एनआरएन यूकेले नेपालको हरेक सामाजिक विकासमा लगानी गर्ने बाताबरण तयार पार्नेछु । साथै, एनआरएन यूकेको सम्पूर्ण गतिविधिलाई पारदर्शि ढंगले बाहिर ल्याउने छु । एकाथरीले एनआरएन भनेको नेपालमा व्यवसाय गरेर विदेशीमा पैसा लैजाने समूहका रुपमा पनि बुझ्ने गरेका छन् । त्यो सोचलाई तोड्न ६० बर्ष उमेर काटेका बृद्धाबृद्ध आमाबुबा र गरिब, असाहय, अनाथ या सडक बालबालिकालाई ध्यानमा राखि निःशुल्क उपचार गर्ने अस्पताल निर्माण गर्न सवैको ध्यान केन्द्रित गर्नेछु । साथै, त्यस्ता बालबालिकाका निम्ति निःशुल्क विद्यालय खोल्न पनि पहल गर्नेछु ।
तपाईलाई नचिन्ने मतदाताहरुलाई निर्वाचनअघि छोटकरीमा कसरी चिनाउन चाहानुहुन्छ ?
त्यसबारेमा भन्नु पर्दा म संक्षिप्त बुंदागत रुपमा नै भन्न चाहान्छु ।
मेरो व्यवसायिक जीवनः
व्यवसायिक रुपमा प्राप्त गर्ने सफलता र आत्मविश्वासले मानिसले भावी कार्य दिशा तय गर्दछ । त्यसैलाई मध्यनजर राखेर मैले पनि विभिन्न पेशा व्यवसायमा हात हाले । सैनिक सेवाबाट अवकाशपश्चात बेलायतमै व्यवसाय सुरु गर्दा ब्रिटिशसँग प्रतिस्पर्धा गर्दै नाइट क्लब, बार, रेस्टुरेन्ट व्यवसाय हुँदै ‘इ एन्ड डब्लु’ कम्पनिको प्रवन्ध निर्देशकको रुपमा काम गरेँ । गोर्खा सेभिङ फाइनान्सको संस्थापक शेयर होल्डर हुँ । त्यहीबाट मैले आर्थिक क्षेत्रमा व्यावसायिक जीवन अगाडी बढाएँ । व्यक्तिगत प्रगतिसँगै जन्मभूमिप्रति पनि आफ्नो उत्तरदायित्व छ भन्ने कुरालाई महशुस गरी नेपालमा कृषि, पशुपालन, हाउजिङ्गलगायतका क्षेत्रमा समेत लगानी गरेको छु ।
सामाजिक जीवनः
समाजसेवी बुवाको पथलाई पछ्याउदै सुरुदेखि नै म पनि सामाजिक क्षेत्रमा सक्रिय थिएँ र अहिले पनि त्यत्तिकै सक्रिय छु । बेलायत तथा जन्मभूमि नेपालमा समेत सेवा पु¥याउने प्रयास जारी छ । स्थानीय ग्रेटर रसमोर कम्युनिटीको संस्थापक खेलकुद प्रबन्धकको रुपमा मेरो संलग्नता थियोे । अहिले समाजसेवाको आयामलाई अझ व्यापक बनाउन लागिरहेको छु । किराँत राई यायोक्खा, बेलायतको संस्थापक सदस्य, खोटाङ समाज यूके, मिशन टु हेल्प नेपाललगायतका संस्थामा सक्रिय रहँदा नेपालमा भूकम्प गएका बेला तत्कालै बेलायतमा नेपाल भूकम्प आपतकालीन अभियानको संयोजक भई सहयोग रकम तथा सामाग्री संकलन गर्दै नेपाल पठाउने काम गरें । झन्डै दश हजार केजी सहयोग सामाग्री कार्गोमार्फत नेपाल पठाउनुका साथै स्थलगत रुपमै रोजिहिरा फाउन्डेशनका सचिव श्रीमती रोजिना प्रधान राईसमेतको संलग्नतामा सिन्धुपाल्चोकको दुर्गम भेग इचोक क्षेत्रमा पुगी सामाग्रीहरु वितरण गरेँ । चेञ्ज फर हेल्थ नेपालसँग मिलेर संयुक्त रुपमा स्वास्थ्य सेवा शिविर सञ्चालन, राहत वितरण, एनआरएन यूके, रोजिहिरा फाउन्डेशन, नेपाल भूकम्प आपतकालीन अभियान यूकेमा रहेर नेतृत्व गरेको क्षण सम्झदा आफूलाई गौरव लाग्छ ।
बुवा मणिप्रसाद राईले बासपानी माध्यामिक विद्यालयलाई निःशुल्क प्रदान गर्नुभएको जग्गामा हाल स्कुल सञ्चालन भएको छ । सर्वसाधारणलाई शिक्षाप्रति अझ आकर्षित गर्न रोजिहिरा फाउन्डेशन स्थापना गरी गरिब असहायहरुको लागि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छु । बालबालिकालाई आवश्यक सहयोग, मुस्कान समाज सेवामार्फत बाढीपीडितलाइ सहयोग रकम उपलब्ध गराएको छु । मिशन टु हेल्प नेपाल तथा नर्भिक अस्पतालसँग सहकार्य गरी खोटाङको बाक्सिला क्षेत्रका बिभिन्न १५ गाबिसका जनताका स्वास्थ्य जाँच एबम उपचारका लागि बृहत स्वास्थ्य शिविरको संचालन कार्यको संयोजन समेत गरेको थिएँ । नेपालमा भएको बागमती सरसफाई अभियानमा पनि स्थलगत रुपमै सक्रिय सहभागी भएँ । नेपाल र ब्रिटेनबीच भएको मैत्रीपूर्ण क्रिकेट खेलको भब्य रुपमा सफल पर्न एनआरएनको तर्फबाट संयोजकको भूमिका निभाएँ । खोटाङ सेवा समाज यूकेको पहल र मेरो संलग्नातामा जिल्लामा ७ वटा एम्बुलेन्स पुर्याउन सफल भएका छौं ।
गोर्खा अभियानः
गोर्खा हुनु आफैमा गौरवानुभूति छ नै । साथै आफै गोर्खा हुनुको नाताले पनि गोर्खाको हकहितका लागि सक्रिय रहनु मेरो जिम्मेवारी हो । तसर्थ सन् १९९४ देखि १९९८ सम्म तत्कालीन गेसो अभियानमा सक्रिय भई गोर्खाको हकहितका लागि लागिरहेँ । तत्पश्चात सन् २००२ देखि बिजीडब्लुएसको संस्थापक सदस्यको रुपमा सुरुदेखि नै सक्रिय छु । अहिले बेलायतमा गोर्खाको हकहितको लागि भएको सत्याग्रह अभियानमा समेत सक्रिय सहभागिता जनाइरहेकै छु ।
एनआरएन अभियानः
एनआरएनको स्थापनाकालदेखि सदस्य छु । त्यही बेलादेखि एनआरएन अभियानमा सक्रिय सहभागी बन्दै वर्तमान एनआरएन यूके कार्यसमितिको उपसभापति छु । गोर्खाको जायज मागमा एनआरएनलाई सहभागी गराउने कुरामा मेरो सदैब सक्रिय भूमिका रहेको छ । ‘एकपटकको नेपाली, सधैका लागि नेपाली’ भन्ने मूल नारालाई आत्मा साथ गर्दै नागरिकताको मुद्दालाई निरन्तर अगाडि बढाउन पनि विशेष भूमिका निभाउंदै आएको छु ।
अन्त्यमा ?
बेलायतबासी सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी तथा आमाबुबालाई भोट दिएर जिताउन आग्रह गर्छु । के भन्न चाहान्छु भने तपाई र तपाईको अमुल्य मतलाई म कहिल्यै निराशा पार्ने छैन् । यहि प्रण गर्छु ।
प्रतिक्रिया