
नेपालीभूमिमै भइरहेको सडक निर्माण हतियारसहित आएका एसएसबीले रोके
कञ्चनपुर । कञ्चनपुरको उत्तरी क्षेत्र जोड्ने गड्डाचौकी–ब्रह्मदेव सडक निर्माणमा भारतीय पक्षले अवरोध पुर्याएको छ । नेपाल–भारत सीमा पिलर ८०९ ९५ ‘ए’० नजिक निर्माण भइरहेको कालोपत्रे सडकमा ह्युमपाइपको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको हो । नेपाली भूमिमै निर्माण भइरहेको सडकमा भारतीय पक्षले आफ्नो क्षेत्रभित्र पर्ने भन्दै विवाद सुरु गरेको हो । हतियारसहित आएका एसएसबीले निर्माण भइरहेको सडकमा पानी निकासका लागि हालेको ह्युम पाइप निकाल्नुपर्ने दबाब दिएको छ ।
भारतीय पक्षको अवरोधका कारण सडक निर्माणको कार्य नै रोकिएको स्थानीयवासीले बताएका छन् । सडक निर्माणमा एसएसबीले अवरोध गरेपछि निर्माण काम रोकिएको बारे प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, 'भारतीय पक्षसँग संयुक्त छलफल गरेर निर्माण कार्य अगाडि बढाइनेछ ।' गत वर्ष फागुनमा कल्भर्टको विषयलाई लिएर भएको विवादमा भारतीय एसएसबीले चलाएको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिकामा एकजना नेपालीले ज्यान गुमाएका थिए । रासस/तस्विरः गुगल फाइल
प्रतिक्रिया