
जन्मदिनको शुभकामना गीत गायन प्रतियोगिता हुने
काठमाडौं । नेवार समुदाय संगीत संस्कृतिमा धनी छ । आधुनिक संगीतमा पनि विभिन्न प्रयोगहरु पछिल्लो समयमा देखिएको छ । यही क्रममा मंगलधूनमा तयार पारिएको नेपालभाषाको जन्मदिनको शुभकामना गीत ‘बूदिंयाभिंतुना म्ये’ सार्वजनिक भएको ३ महिना भएको छ । गायक तथा रचनाकार सुरजवीर बज्राचार्यले जुगल डंगोलको संगीत संयोजनमा सार्वजनिक गरेको यो गीत लोकप्रिय पनि भएको छ ।
जन्मदिन परेका ब्यक्तिको फोटो राखि गीत पोष्ट गर्ने, गीत बजाएर सगुनदिने, गीतको कभर गाएर पोष्ट गर्ने जस्ता विविध गतिविधिहरु देखिन थालेपछि गीतको यो प्रयोगलाई प्रोत्साहित गर्न गायन प्रतियोगिता हुन लागेको हो । साथै जन्मदिन संस्कृतिमा पाश्चात्य संस्कृतिको गीतको प्रभावकम गरी नेपालभाषाकै गीतको प्रयोग गराउन र नेपालभाषाको संगीत क्षेत्रमा नयाँ गायकहरुको आगमन सहज बनाउन नेपालभाषी जन्मदिनको शुभकामना गीत गायन प्रतियोगिता हुने भएको छ ।
यो सम्पूर्ण रुपमा गायन प्रतियोगिता हो । जज प्यानलले सबैभन्दा राम्रो गायकका रुपमा पहिचान गरेका गायकलाई आर्टोम्यूज रेकर्डिङ्ग स्टुडियोले जुगल डंगोलको संगीत तथा सुरजवीर बज्राचार्यको शब्दमा एउटा गीत रेकर्डिङ्ग गरिदिने छ । गोल्मा कम्पनी प्रालिले हाल सालै बजारमा ल्याएको चेज लिड टिभी (२४ इन्च) प्रदान गर्नेछ । साथै सबै भन्दा बढी हेरिएको गीतलाई पनि पुरस्कृत गरिनेछ ।
एक भन्दा बढी सम्भावना रहेका गायकहरुको छनौट भए एउटा कलेक्सन एल्बम नै तयार पार्ने पनि आयोजकले जनाएको छ । घोषणाको मितिबाट माघ ८ गतेसम्ममा कभर गीत आयोजकको आधिकारिक फेसबुक पेजमा पोष्ट गरिसक्नु पर्नेछ । माघ ८ गते नतिजाबारे जानकारी तथा पुरस्कार वितरण कार्यक्रमको घोषणा गरिनेछ । ‘बूदिंयाभिंतुना म्ये’ गायक तथा रचनाकार बज्राचार्यले आफ्नी श्रीमती रमा बज्राचार्यको जन्मदिन पारी सार्वजनिक गरेका थिए । सो प्रतियोगिताको आयोजक पेजथ्री नेपालभाषा पाक्षिक हो ।
प्रतिक्रिया