
छानविन टोली सुर्खेतमा, सर्वसाधारणलाई कालिकोटमा सास्ती
कालिकोट । जिल्ला प्रशासन कार्यालय कालिकोटले भड्किएको अवस्थामा सुधार नआएपछि अहिलेसम्म कफ्र्यू जारी राखेको छ । आइतबार बेलुका ६ बजेदेखी ८ बजेसम्म स्थानीय बजारवासी तथा अन्य नागरिकहरुलाई दैनिक उपभोग्य सामग्री खरिद गर्न भने समय दिइएको छ । त्यसपछि पुनः कफ्र्यू जारी रहने जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले शनिबार दिउंसो ४ बजेदेखि लगाइएको अनिश्चितकालीन कफ्र्यू आइतबार बिहान ८ बजेदेखि १० बजे र बेलुका ६ बजेदेखि ८ बजेसम्म ४ घण्टा छुट गरिएको हो । उनले शनिबार बेलुका जिल्ला प्रशासनमा मध्यपश्चिम क्षेत्रीय प्रशासक सुरेशकुमार प्रधान, नेपाल प्रहरीका डिआईजी सुरेशबिक्रम शाह, अनुसन्धानका डिआईजी टेकेन्द्र कार्कीसहितको टोली, मृतक म्यादी प्रहरी बिबेक ऐडीका आफन्तहरुसहित सर्बदलीय सर्बपक्षीय बैठकले चार वटा महत्वपूर्ण निर्णय समेत गरेको छ । सरकारले पीडित पक्षका तीन वटा मागहरु दश लाख क्षतिपूर्ति, छानबिन समिति गठन, घाइतेहरुको उपचारको जिम्मा लिएपनि आफन्तहरुले भने मृतक ऐडीलाई शहीद घोषणा नगरेसम्म पोष्टमार्टम नगर्ने बताएका छन् । आन्दोलनमा अन्य शक्तिहरुको घुसपैठ हुने भन्दै कफ्र्यू जारी राखेको गैरेले जानकारी दिए ।
छानविन टोली कालिकोटमाः
गत शुक्रबार आफ्नो सेवा सुविधा कम भएको भन्दै आन्दोलन गरेका म्यादी प्रहरी र प्रहरीको झडपमा परी गोली लागेर मृत्यू भएका म्यादी प्रहरी ऐडीको घटना तथा म्यादी प्रहरीको सेवा सुविधाको बिषयमा छानबिन गर्न तत्काल गृहमन्त्रालयका सहसचिव मानबहादुर बिश्यकर्माको नेतृत्व टोली कालिकोट भोली विहान मात्र आइपुग्ने छ । टोलीमा नेपाल प्रहरीका डिआईजी रमेश खरेल, सशत्र प्रहरीका डिआईजी प्रविण श्रेष्ठ र राष्टिय अनुसन्धान बिभागका निर्देशक लक्ष्मण गुरुङ सदस्य रहेका छन् । उनीहरु आज सुर्खेत आईपगेको र भोली बिहान कालिकोट आईपुग्ने गैरेले बताए ।
यस्तो छ सेवा सुविधाः
म्यादी प्रहरीले पाउने सेवा सुविधाहरु तलव, स्केल मासिक १७ हजार २ सय ३० का दरले ५५ दिनको गरी कर कटाएर ३० हजार ८ सय ४४, स्थानिय भत्ता ४ हजार ४ सय ३०, राशन दैनिक २ सय ७१ का दरले ५५ दिनको जम्मा १४ हजार ७ सय ५५, अन्य भत्ता २ सय ५० का दरले ७ दिनको १ हजार ७ सय ३२, पोशाक प्रतिव्यक्ति ४ हजार, भ्रमण खर्च १ हजारका दरले कर कटाएर ९ सय ९० र खाजा खर्च बापत २ सय ५० का दरले ७ दिनको १ हजार ७ सय ३२ गरी जम्मा पाउनुपर्ने रकम ५८ हजार ४ सय ४५ रुपैयाँ बैक खातामा जम्मा भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख सुवासचन्द्र बोहोराले बताए । उनले आफुले म्यादी प्रहरीको सेवा सुविधामा राज्यले दिएअनुसार ५ पैसा समेत हिनामीना नगरेको दाबी गर्दै छानबिनबाट हिनामीना गरेको देखिए कारबाही भोग्न तयार रहेको बताए । प्रहरी प्रमुख बोहोराले प्रमुख जिल्ला अधिकारी र आफ्नो आदेश बिनानै गोली चलेको बताउंदै यसको नैतिकरुपमा आफुले जिम्मेवारी लिएको पनि बताए ।
मृतकका आफन्तमा अझै असन्तुष्टीः
मृतक ऐडीका आफन्त बुवा हरिबहादुर र दाई हर्क ऐडीले बिवेकलाई शहीद घोषणा नगरेसम्म आफुहरुले लाशलाई नबुझ्ने बताएका छन् । उनीहरुले प्रहरीको गोलीबाट आफ्नो परिवारको सदस्यालाई गुमाउनु परेको बताउंदै घटनाको छानबिन, दोषीलाई कारबाही र सरकारले शहीद घोषणा गर्नुपर्ने माग गरे । तत्काल सरकारले बिवेकलाई शहीद घोषणा नगरे लाशको पोष्टमार्टम गर्न नदिने समेत उनीहरुले बताए । आन्दोलनका कारण बजार बन्द हुनुका साथै सरकारी निकायबाट नागरिकहरुले पाउनुपर्ने सेवा सुविधा पनि कफ्र्यूका कारण ठप्प भएको छ । स्थायीय नागरिकलाई लगातार लामो समयसम्म लगाईएको कफ्र्यूले द्धन्द्धकालको झझल्को भएको छ । कर्णाली राजमार्गमा भने प्रहरीको स्कटिङमा यातायात सेवा सुचारु गरिएको छ ।
प्रतिक्रिया