
१२ औं अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता शुरु
इटहरी । १२ औं अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता आजदेखि शुरु भएको छ । उक्त प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, कम्बोडिया, कतार, अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया, अष्ट्रिया, घाना, नाइजेरियालगायत दुई दर्जनभन्दा बढी देशका खेलाडी तथा रेफ्री, प्रशिक्षक, अधिकृत आदिको सहभागिता छ । झण्डै एक हजार जनाको सहभागिता रहेको सो खेल इटहरीस्थित तेक्वान्दो एकेडेमी हलमा आजदेखि सुरु भएको हो ।
युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले प्रतियोगिता उद्घाटन गर्दै नेपालको भूमिमा खेलिँदै आएका सबै खेललाई अब गाउँ तथा शहर सबै स्थानमा उत्तिकै महत्वका साथ विकास गर्न सरकारले विशेष ध्यान दिने बताए । मन्त्री केसीले अब चाँडै १३ औं साफ खेलसमेत नेपालले आयोजना गर्ने अवसर पाएको बताउँदै इटहरीलाई खेलकुदको शहर बनाउन खेलको भौतिक पूर्वाधारमा जोड दिइने जानकारी दिए।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाललाई विश्वविख्यात खेलाडी र सशक्त खेलकुदकर्मीका नामबाट समेत विश्वमा चिनाउने गरी काम गरिने बताए । अन्तर्राष्ट्रिय तेक्वान्दो खुला च्याम्पियनसिप संस्थाका महासचिव क्योरिन ब्ल्यासलेज, राजु राईलगायतले अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेललाई इटहरीमा आयोजना हुनु राखेप र इटहरी तेक्वान्दो दोजाङ्ग तथा स्थानीयवासीको पर्याप्त सहयोग नै मुख्य कारण रहेका जनाउँदै खुशी व्यक्त गरे ।
प्रतिक्रिया