
'कामचलाउ सरकारले गरेका निर्णय भावी सरकारका लागि मान्य हुन्न'
अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय भावी सरकारले पुनःविचार गर्ने बताएका छन् । नेता रावलले वर्तमान सरकारले जनताको हितविपरीत स्वेच्छाचारी र मनपरी ढंगले निर्णय गरिरहेको पनि आरोप लगाए । नेपाल प्रेस चौतारी जिल्ला शाखले साफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'कामचलाउ सरकारले नियमविरीत गरेका निर्णय भावी सरकारका लागि मान्य हुन्न ।' उनले सामाजिक सुरक्षा भत्ता र भूकम्पपीडितको राहतसम्बन्धी निर्णय देश कङ्गाल बनाउने कदम भएको बताए ।
'काम चलाउमा परिणत भइसकेको र जनादेश गुमाइसकेको वर्तमान सरकारलाई त्यस्ता निर्णय गर्ने अधिकार छैन,' उनले भने, 'सरकारमा रहिरहन जालझेल र अनेकौ तिकडम गर्ने र त्यो सफल नभएपछि देशलाई नै कङ्गाल बनाउने गरी आर्थिक संकटमा फसाउने र सञ्चित रकम सिध्याउने लगायतका क्रियाकलाप गर्न मिल्दैन ।' प्रधानमन्त्री देउवाले प्रदेशको राजधानी तोक्ने सवालमा, नागरिकमा भ्रम सिर्जना गरेको आरोप लागाउँदै उपाध्यक्ष रावलले सरकारले गठन गरेको विज्ञ टोलीबाट तयार पारिएको प्रतिवदेन सार्वजनिक नगरेर अस्थायी मुकाम तोक्नु उचित थिएन भने । फोटोःगुगल फाइल/रासस
प्रतिक्रिया