
दिगो विकास र लक्ष्यहरु सम्वन्धि एकदिने सम्मेलन सम्पन्न
काठमाडौं । दिगो विकास र लक्ष्यसहित (२०१६–२०३०) अन्तर्राष्ट्रिय सिकाइ र भोगाइ सम्वन्धि एकदिने सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलन मध्यपश्चिमाञ्चल विश्वविद्यालय, अन्तर्राष्ट्रिय साझेदारी र विकास कार्यक्रम (एमआइसीडी), ईन्टरनेशनल स्कुल अफ एड्भान्स स्टडिज (आइसास), कोअपरेशन एण्ड डेभलवमेन्ट नेटवर्क (सिडिएन) लगायतका विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा गरिएको थियो ।
सम्मेलनमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. युवराज खतिवडाले दिगो विकासमा नेपालको सिकाइ र भोगाइ सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । कम विकसित देशहरु (लिष्ट डेभलवमेन्ट कन्ट्रीज–एलडीसी) वाचका अन्तर्रास्ट्रिय संयोजक गौरी प्रधानले नेपाल लगायतका अल्पविकशित मुलुकमा दिगो विकासको कार्ययोजना र दिगो विकासका लक्ष्यहरु प्राप्तिका समस्याका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कोअपरेशन एण्ड डेभलवमेन्ट नेटवर्क (सिडिएन) का प्रमुख प्रोफेसर जानी भाज्जीले दिगो विकासमा विश्वव्यापी अनुभवहरुका सम्वन्धमा आफ्ना भनाईहरु राखेका थिए । उक्त सम्मेलनमा नेपाल, प्यालेस्टाइन, इटाली, केन्या र कोलम्बियाबाट सहभागी विभिन्न विज्ञहरुले आफ्ना देशका दिगो विकास सम्बन्धि अन्तर्राष्ट्रिय प्रतिवद्धता, कार्ययोजना र सुधारका प्रयाशहरुका सम्वन्धमा आआफ्ना अनुभवहरु आदानप्रदान गरेका थिए ।
सम्मेलनमा दिगो विकास सम्वन्धि लक्ष्यहरु (२०१६–२०३०) का १७ वटा लक्ष्यहरु र त्यसका विभिन्न उपलक्ष्यहरुको प्राप्तिका लागि विश्वव्यापी साझेदारीमा जोड दिइएको थियो । विशेषगरी कम विकसित मुलुकहरुमा दिगो विकास सम्वन्धि लक्ष्यहरुको प्राप्ति विना विश्वव्यापी लक्ष्यहरुमा उपलब्धी हुन नसक्ने भएकाले एशिया र अफ्रिकाका कम विकसित देशहरुमा विश्वव्यापी साझेदारीको प्रवर्धन गरी विश्वबाट गरिवी, भोकमरी, अशिक्षा, असमानताको अन्त्य गरी विकास, समृद्धि, सुशासन र शान्ति स्थापना गर्नुपर्ने छलफलले निष्कर्ष निकालेको थियो ।
कार्यक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरुलाई स्वागतका साथै नेपालमा दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि आवश्यक तयारी र त्यसबाट नेपालले प्राप्त गर्न सक्ने उपलब्धीहरुका सम्वन्धमा डा.दिनेशराज भुजुले व्याख्या गरेका थिए ।
प्रतिक्रिया