
सुन तस्करीमा हेयर इलेक्ट्रिक आइरनको प्रयोग, फन्दामा परे ६ जना
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ( सीआईबी) ले १४५ तोला सुनसहित ६ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले दुबईबाट ब्यूटी पार्लरमा कपाल सिधा पार्न प्रयोग गरिने हेयर इलेक्ट्रिक आइरनमा लुकाएर ल्याएको अवस्थामा उक्त अवैध सुन फेला पारेको थियो । होमबहादुर बुढाथोकीले चलाएको बा १६ च ३५१० नम्बरको कालो कारबाट उक्त सुन बरामद गरिएको हो ।
व्यूरोका अनुसार पक्राउ पर्नेमा बाग्लुङका शशीकला भण्डारी गुरुङ, भक्तपुरका सरोज केसी, झापाका होमबहादुर बुढाथोकी, काभ्रेपलाञ्चोकका जीवन शाक्य, भक्तपुरका बिजु बज्राचार्य र भारतका योगेश मगर रहेका छन् । प्रहरीले उनीहरुलाई सोमबार बेलुका सिनामंगलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
शशीकला भण्डारीका श्रीमानले दुबईबाट सुन पठाइदिने र नेपालमा भण्डारी तथा सरोज केसीले कोटेश्वरमा रहेको बज्राचार्य गहना पसल र शाक्य गहना पसलमा बिक्री–वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया