
ईमाडोलमा प्लाष्टिकको झोला निषेध, यसरी भयो वडावासीको प्रशंसा
ललितपुर । महालक्ष्मी नगरपालिका–१ इमाडोलले आगामी बैशाख १ गतेदेखि आफ्ना वडामा प्लाष्टिकका झोला निषेध गर्ने भएको छ । वडाभित्र ४० माइक्रोन भन्दा कमका प्लाष्टिका झोला प्रयोग गर्न पूर्ण निषेध गरिने वडा अध्यक्ष नन्दकुमार केसीले बताएका छन् ।
प्लाष्टिक झोला निशेष गर्ने बिषयमा शनिवार आयोजना गरिएको अन्तरक्रियामा वडाको वातावरणलाई स्वच्छ, सफा र सुन्दर राख्न यस्तो कदम चल्न लागिएको वडाध्यक्ष केसीले बताए ।
स्थानीयसँग परामर्श गरेर ल्याइएको यो अभियान स्थानीयकै पहलमा सफल हुने उनको बिश्वास छ । सरकारले १ बैशाख २०७२ बाट उपत्यकालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरे पनि १२ बैशाखको भूकम्पपछि यो अभियान छाँयामा परेको थियो ।
अभियान अन्तरगत २० दिनसम्म जनचेतनामुलक कार्यक्रम गर्ने, नयाँ बर्षको पहिलो दिनबाटै (१ बैशाख) प्लाष्टिक प्रयोग भएको पाइएमा कारवाही अगाडि बढाइने वडाध्यक्ष केसीले बताए ।
कार्यक्रममा सहकारीकर्मी रामहरी बजगाईंले प्लाष्टिक झोला निषेध गर्ने वडा अध्यक्षको कदमलाई सहयोग गर्ने बताए । माओवादी केन्द्रका नेता शिव कट्टेलले प्लाष्टिक व्यवसायीलाई नआत्तिन र मापदण्ड अनुसारको झोला उत्पादन गर्न सुझाव दिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले नगरपालिकाले शुरु गर्नुपर्ने काम वडा स्तरबाट शुरु भएको भन्दै वडावासीको प्रसशसा गरे ।
प्रतिक्रिया