
'सरकार अनशनरत डा. गोविन्द केसीसँग बार्ता गर्न तयार छ'
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री सोमप्रसाद पाण्डेले सरकार अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न तयार रहेको बताएका छन् । उनले भने,‘डाक्टर केसीसँग वार्ता गर्न हामी तयार छौं, उहाँलाई काठमाडौं ल्याएर वार्ता गर्छौं, सबैको सल्लाह अनुसार उहाँलाई काठमाडौं ल्याउनको लागि सरकार तयारी अवस्थामा छ, हेलिकप्टरसमेत स्ट्याण्डमा छ, मुलुकको आवश्यकत्ता अनुसार हामी परामर्श र छलफल गर्न तयार छौं।’
नेता पाण्डेले अनशनरत डाक्टर केसीका जायज मागहरु सरकारले सम्बोधन गर्ने तर नाजायज कुराहरु भने परिमार्जन गर्ने आफूहरुको योजना रहेको सुनाए । उनले भने,‘डाक्टर केसीलाई अनशन तोडेर वार्तामा आउन सरकारले आह्वान गरिसकेको छ, उहासँग वार्ता गर्न सरकार एकदम तयारी अवस्थामा छ ।’ कार्यक्रममा बोल्दै उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनशनरत डाक्टर केसीको विषयमा अलिक बढि नै कुरा उठाएको टिप्पणी गरे । उनले भने,‘कांग्रेसले डाक्टर केसीको बारेमा जसरी कुरा उठाएको छ, उसले केसीको बारेमा सरकारमात्रै जिम्मेवार छ भन्ने देखायो, संभवत डाक्टर केसीले पनि चार तारे झण्डा बोक्नुभएको थियो, त्यसैले उहाँको बारेमा कांग्रेसले अलिक बढि कुरा उठाउनु स्वभाविक हो।’
उनले कांग्रेसले पछिल्लो समय जताततै अवरोधमात्रै गरेको गुनासो समेत पोखे । उनले भने,‘कांग्रेसको यो हर्कतले उसैलाई फाईदा हुँदैन्, पछिल्लो समय कांग्रेस गैर–जिम्मेवार बन्यो, कांग्रेसकै कारण अहिले संसदीय समितिहरु गठन हुन सकेका छैनन्, प्रतिपक्षी दलले चारवटा समिति माग गरेको छ, उ सरकारमा हुँदा हाम्रो पार्टी तत्कालिन नेकपा एमाले प्रतिपक्षमा थियो, सार्वजनिक लेखा समितिको सभापति समेत हामीलाई दिएन्, षड्यन्त्रपूर्वक हाम्रा उम्मेद्धवारलाई पराजित गराईयो, उसले अलोकतान्त्रिक हर्कत देखायो।’
कांग्रेसले संसदमा चिकित्सा शिक्षा विद्येयक रोकेकोपनि उनले आरोप लगाए । पाण्डेले भने,‘विद्येयकउपर संसदमा सैद्धान्तिक र दफावार छलफल हुन्छ नि, संसदमा प्रशस्त समय हुन्छ, यो विद्येयक पारित गर्न लामो समय लाग्छ, तर काग्रेसले छलफल नै गर्न नदिई विरोध गर्याे ।’ सरकारले चिकित्सा शिक्षा विद्येयक प्रक्रिया पूरा गरेर नै संसदमा पेश गरेको उनले स्पष्ट पारे । उनले भने,‘कांग्रेसले सरकारलाई अधिनायकवाद ल्याउन लाग्यो भन्नु दुई दशकपछि सरकारबाट बाहिर भैयो भन्ने पीडा हो ।’ रिपोटर्स क्लबमा भएको कार्यक्रममा प्रत्येक वर्ष नेपाली विद्यार्थीहरु एम.बि.बि.एस.अध्ययन गर्न विदेश जानाले १५ अर्ब ५३ करोड राज्यबाट विदेशिएकोबारे उनले दुःखद् भएको सुनाए ।
प्रतिक्रिया