
काँग्रेसभित्र बहस: धर्मनिरपेक्ष, हिन्दु राष्ट्र या धार्मिक स्वतन्त्रता ?
काठमाडौं । पटकपटक तोतिकएको मिति सारिँदै नेपाली काँग्रेसको महासमिति बैठक अब भने मंसिर २८ गतेका लागि तोकिएको छ । महासमितिको बैठक पार्टी सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा हुने सार्वजनिक गरिसकेका छन् । यद्यपी, नेपाली काँग्रेसका केन्द्रीय समितिका सदस्यहरु र आम कार्यकर्ता नै तोकिएको मितिमा महासमितिको बैठक हुने कुरामा ढुक्क हुन सकिरहेका छैन् । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले भने पार्टीको महासमिति बैठक मंसिर २८ गते बस्नेमा आफू विश्वस्त रहेको बताए ।
बैठक हुने मिति तोकिएता पनि काँग्रेसको महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन र प्रस्तावहरुमा काँग्रेसले कुन धार पकड्ने भन्ने विषयमा ठूलो विवाद छ । यतिखेर, काँग्रेसभित्र संविधानमा उल्लेख भएझैं धर्मनिरपेक्षलाई अंगाल्ने, हिन्दु राज्यलाई प्रमुख एजेण्डा बनाउने या मध्यममार्गी धार अर्थात ‘धार्मिक स्वतन्त्रता’ राख्दै धर्मका बारेमा केही नबोल्ने भन्ने विषयमा ठूलो बहस सुरु भएको छ ।
संविधानमै उल्लेख भएअनुसार धर्मनिरपेक्षलाई आत्मसाथ गर्नुपर्ने धारमा पार्टी सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधि, गगनकुमार थापालगायत नेताहरु रहेका छन् । उता धर्मनिरपेक्ष हटाई हिन्दु राज्य हुनुपर्ने पक्षमा महामन्त्री संशाक कोइरालाको समूह रहेको छ । उनले नेपाली काँग्रेसका स्व.नेता खुमबहादुर खड्काको धार पकडेका छन् ।
त्यसैगरी धर्मनिरपेक्ष र हिन्दु राज्य दुवै नभई ‘धार्मिक स्वतन्त्रता’ राखेर काँग्रेसले धर्मको बारेमा केही बोल्न नहुने पक्षमा मध्यममार्गी नेताहरुको उदय भएको छ । उक्त मध्यममार्गी धारमा ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँडलगायतका नेताहरु उभिएका छन् । यतिखेर, काँग्रेसकै नेतृत्वमा जारी भएको जनताको संविधानमा राखिएको धर्मनिरपेक्षलाई काँग्रेसले पुनःअंगाल्ने किन नअंगाल्ने भन्ने विषयमा ठूलो बहस सुरु भएको छ । अर्कोतिर, महासमितिको बैठक नजिकिदै जाँदा तोकिएकै मितिमा बैठक हुने वा नहुने भन्ने विषयमा दुविधा त छदैंछ ।
प्रतिक्रिया