
एकान्त रोज्दै पूर्वयुवराज पारस चापागाउँस्थित फार्म हाउसमा
काठमाडौं । पूर्वयुवराज पारस शाहले आफ्नो छविलाई सुधार गर्दै लगेका छन् । पारसले आफूलाई सामाजिक गतिविधिहरूका साथै सर्वसाधारण जनताहरूसँग सकेसम्म नजिक लैजाने प्रयास गर्दै आएका छन् । विदाका दिनहरूमा पूर्वयुवराज पारस गोदावरी नगरपालिकातिर बाक्लै देखिने गरेका छन् । पारस बेला-बेला सातदोबाटो हुँदै चापागाउँतिर हानिने गरेका छन् । चापागाउँ भन्दा अलिक माथि गएपछि एउटा फार्म हाउस आउँछ ।
त्यहि फार्म हाउसमा दिनभरि पारसले बिताउने गरेको निकट स्रोतले बतायो । चापागाउँभन्दा माथिको जंगलमा रहेको फार्म हाउस शाही सरकारका पूर्वसहायक मन्त्री निक्षशम्शेर राणाको हो । राणाले नै पारसलाई आफ्नो फार्म हाउसमा बोलाएर रमाइलो गर्ने गरेका छन् । स्रोतका अनुसार पूर्वयुवराज पारसले काठमाडौंको कोलाहलबाट बच्नका लागि शान्त ठाउँमा भन्दै त्यतातिर जान थालेका हुन् । उनले आफ्ना साथी र सहयोगीहरूलाई पनि त्यहि भन्ने गरेका छन् ।
राणाले पनि पारसकै आग्रहमा फार्म हाउसमा लैजाने गरेको बताउने गरेका छन् । फार्म हाउसभित्र पारसले के–के गर्छन्, त्यो भने केही खुलेको छैन । तर, फार्म हाउसमा विभिन्न थरी खानपानको व्यवस्था गरिएको हुन्छ । स्रोतका अनुसार पूर्व सहायकमन्त्री राणाले पूर्वयुवराज पारसलाई जंगली बँदेल, कालिज, चित्तल आदिको मासुको व्यवस्था गर्छन् । दाह्रीजुँगा सेतै फुलेका राणा अहिले पनि हृष्टपुष्ठ देखिन्छन् ।
आफ्नो स्वास्थ्यलाई मेन्टेन गर्दै आएका राणा र पूर्व युवराज पारस चापागाउँ भन्दा माथिको जंगलमा रहेको फार्म हाउसमा अरु कुनै पनि व्यक्ति सँग बोल्दैनन् । पछिल्लो समय पारस र राणाबीच सम्बन्ध सुमधुर बन्दै गएको छ । पारसले राणासँग राजनीतिक र अन्य विविध विषयमा सरसल्लाह लिने गरेका छन् । पारस र राणाबीच विशेष गरेर शनिबारका दिन फार्म हाउसमा भेटघाट हुने गरेको छ । बिहान एघार बजेतिर पारस र राणा आ–आफ्ना गाडी चढेर फार्म हाउसमा आउने गरेको चापागाउँका एक जना प्रत्यक्षदर्शीले बताए । यूनाईटेड पोष्टबाट
प्रतिक्रिया