
सुन्दरी प्रतियोगिताको मजाकः भैंसी र गाईलाई पनि सुन्दरीको उपाधि
इनरुवा । नेपालमा सुन्दरी प्रतियोगितालाई मजाक बनाइन थालिएको छ । अब हुँदा-हुँदा नेपालमा भैसी र गाई सुन्दरी प्रतियोगिता हुन थालेको छ । सुनसरीको कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको हो ।
प्रतियोगितामा कोशी गाउँपालिका-३ पश्चिम कुशाहाका बिन्देशर इशरको भैँसी प्रथम, बालेश्वर परसैलाको भैँसी दोस्रो र कोशी गाउँपालिका-४ का रामरत्न यादवको भैँसी तेस्रो भएको थियो । विजेता भएका भैँसी धनीलाई गाउँपालिकाले क्रमशः २५ हजार, १५ हजार १० हजार रुपैयाँ नगद पुरस्कार दिने गाउँपालिकाका अध्यक्ष एयुव अन्सारीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम भएका भैँसी धनीलाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले भैँसी नै पुरस्कार दिने घोषणा गरेका थिए । प्रतियोगितामा कोशी गाउँपालिका क्षेत्रभित्रका करीब दुई सयभन्दा बढी भैँसीलाई सहभागिता गराइएको थियो । आयोजकले शनिबार गाई सुन्दरी प्रतियोगिता गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा कोशी गाउँपालिका क्षेत्रभित्रका करीब दुई सयभन्दा बढी भैँसीलाई सहभागिता गराइएको थियो । यसअघि पनि सुनसरीकै इटहरीमा भैंसी सुन्दरी प्रतियोगिता भएको थियो । उक्त आयोजना वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपालले गरेको थियो ।
इटहरी-२ स्थित हवाईचौकमा सम्पन्न उक्त भैंसी सुन्दरी प्रतियोगितामा इटहरीकोे हिरा नाम दिइएको भैँसीलाई उपाधि दिइएको थियो । हिराले ३ दर्जन भैसीलाई पन्छाउँदै उपाधि हासिल गरेको थियो । हिरालाई इटहरी-२ की मिठुमायाँ कार्कीले पालेकी थिइन । विजेतालाई ११ हजार नगद दिइएको थियो । आश्चर्य लाग्दो कुरा त प्रतियोगितामा सबै भैंसीलाई अथितिको विल्ला भिडाइएको थियो । नेपालमै पहिलो पटक गरिएको उक्त प्रतियोगिता हेर्न आउनेहरुको घुइँचो लागेको थियो । फोटोः मिडिया फाइल
प्रतिक्रिया