
दुई लाख रुपैयाँसहित होटल हाइवेबाट १२ जना जुवाडे समातिए
काठमाडौँ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो । नेपालीलाई क्यासिनो प्रवेशमा कडाई गरिएपछि जुवाडेले टोलटोलमा मिनि क्यासिनो शैलीमा अवैध जुवाको धन्दा सञ्चालन गरिरहेका छन् ।
वृत्तबाट खटिएको टोलीले टोखा नगरपालिका-९ मिलनटोलमा रहेको होटल हाइवेमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राजु गुरुङ, अभिषेक तामाङ, सन्तकुमार मोक्तान, ताराकुमार श्रेष्ठ, विजय लामा, रोहित कार्की, रामबहादुर गुरुङ, साजन विक, वुद्धराज थेवे, विमल मगर, सनम राई र शान्ति तामाङ रहेका छन् । उनीहरुलाई शुक्रबार राति पक्राउ गरिएको हो ।
वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले जानकारी दिए । प्रहरीले जुवा खेलिरहेका जुवाडेका साथबाट तीन बुक तास र कौडासहित दुई लाख २० हजार ७०५ रुपैयाँ नगद पनि बरामद गरएको छ । बृत्तले पक्राउ परेका जुवाडेलाई जुवा ऐन अन्तर्गत कारबाही गर्ने जनाएको छ । केही दिन पहिले प्रहरी बृत्त बौंद्धले पनि होटलमा जुवा खेलिरहेका सञ्चालकसहित ९ जनालाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया