
दुई दिनमै ४० जुवाडे समातिए, २ लाख ५८ हजार रुपैयाँ बरामद
कास्की । जिल्ला प्रहरी कार्यालय कास्की अवैध जुवा अखडा सञ्चालक र जुवाडेहरुप्रति कठोर बनेको छ । कास्की प्रहरीले दुई दिनमै ५ जुवा अखडाबाट ४० जनालाई पक्राउ गरेको छ भने उनीहरुको साथबाट नगद दुई लाख ५८ हजार ३२० रुपैयाँ बरामद भएको जनाएको छ । कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका ५ पर्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठामा अबैध रुपमा जुवातास खेल्ने गरेको गोप्य सूचना प्रहरीलाई पुग्यो । सोही सूचनाका आधारमा कास्कीको प्रहरी टोली पक्राउ गर्न खटियो ।
सो क्रममा ४ बुक तास तथा जुवा खेलाउने कमला रानाभाटसहित ८ जना पक्राउ परे । उनीहरुको साथबाट एक लाख २१ हजार १४० रुपैयाँ बरामद भयो । त्यसैगरी, पोखरा महानगरपालिका वडा नं ८ नागढुंगास्थित बालकृष्ण शर्माले संचालन गरेको होटलको तेस्रो तल्लामा जुवातास भइरहेको प्रहरीले पुनः सूचना पायो । त्यसपछि तत्काल प्रहरी टोली त्यहाँ पुग्यो । प्रहरीले जुवातास खेलाउने शर्मासहित ७ जनालाई पक्राउ गर्यो ।
४ बुक तास र नगद ६२ हजार ८३५ रुपैयाँ पनि बरामद गर्यो । त्यस्तै, पोखरा महानगरपालिका वडा नं ३२ झैरीचोकस्थित रामराज पौडेलको गोठमा जुवा खेलिरहेको सूचना प्रहरीकहाँ आइपुग्यो । तत्काल प्रहरी त्यहाँ पुगेर छापा हान्दा ४ बुक तास, जुवा खेलाउने रामराज पौडेलसहित ११ जना जुवाडे पक्राउ परे । उनीहरुको साथबाट प्रहरीले ३२ बत्तिस हजार ८१५ रुपैयाँ बरामद गरेको थियो ।
पोखरा महानगरपालिका वडा नं १६ दिपस्थित दुर्गा घलेको घरमा पनि जुवा तास खेलिरहेको सूचना प्रहरीलाई पुग्यो । प्रहरीले उक्त जुवा अखडामा छापा हान्दा ३ बुक तास बरामद भयो भने जुवातास खेलाउने दुर्गा घलेसहित ८ जना पक्राउ परे । उनीहरुको साथबाट प्रहरीले २५ हजार २०० रुपैयाँ बरामद भएको जनाएको छ ।
त्यस्तै पोखरा महानगरपालिका वडा नं १० रामघाटस्थित बिष्णु गुरुङको घरमा उर्मिला लामिछानेले संचालन गरेको पर्वत होटलभित्र अबैध जुवा सञ्चालन भइरहेको सूचना पाउँनासाथ प्रहरी त्यहाँ पुगेर छापा हान्दा ४ बुक तास बरामद भयो भने जुवातास खेलाउने बिष्णु गुरुङसहित ६ जना पक्राउ परे । प्रहरीले उनीहरुको साथबाट ३६ हजार ३३० रुपैयाँ बरामद गरेको जनाएको छ । पक्राउ परेका जुवा अखडा सञ्चालक, जुवाडेलाई प्रहरीले हिरासतमा लिएर अदालतबाट म्याद थप गरी जुवा मुद्दा अन्तरगत थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।
प्रतिक्रिया