
नेपाल नागरिक समाजद्धारा देशव्यापी भ्रष्टाचार विरोधी आन्दोलनको घोषणा
काठमाडौं । नेपाल नागरिक समाजले भ्रष्टाचार विरोधी देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । समाजले पत्रकार सम्मेलन गरी भ्रष्टाचार विरोधी आन्दोलनको घोषणा गरेको हो । कार्यक्रममा बोल्दै समाजका अध्यक्ष भीमबहादुर शाहीले आगामी दिनमा ‘भ्रष्टाचार विरोधी आन्दोलन’ देशव्यापी रुपमा शुरु गर्ने बताए ।
आन्दोलन तीन चरणमा विभाजित गरिएको उनको भनाई थियो । पहिलो चरणमा प्रचार, दोस्रो चरणमा खबरदारी र तेस्रो चरणमा कारबाही आन्दोलन हुने जानकारी दिए । आन्दोलनको मुख्य सिद्धान्त सत्य, अहिंसा, शान्ति, सहभागिता र पारदर्शीता रहने पनि प्रष्ट पारे ।
उनले भने, ‘यो आन्दोलन सम्पूर्ण नागरिकहरुको आन्दोलन भएकाले आगामी दिनमा कुनै पनि विभेद र प्रतिशोध नराखी आ-आफ्नो स्तर र क्षत्रबाट सहयोग र सहभागिताको आवह्वान गर्दछु ।’
शाहीले आफ्नै विधि, विधान र कार्यशैलीमा आन्दोलनलाई देशव्यापी बनाएर लैजाने तयारी पूरा भएको जानकारी दिए । उनले भने-'अब देशव्यापी रुपमा भ्रष्टाचार विरोधी आन्दोलन अगाडि बढाउँछौं ।'
२०७३ भदौ ५ गते बाँके जिल्लाको कोहलपुरमा समाजको स्थापना भएको उल्लेख गर्दै भ्रष्टाचार विरुद्ध भूमिका निभाउँदै आएको बताए । आगामी दिनमा भूमिकालाई अझ प्रभावकारी बनाउँदै भ्रष्टाचार विरोधी आन्दोलनलाई निरन्तर अगाडि बढाउन सम्पूर्ण नागरिकहरुलाई आह्वान गरे ।
प्रतिक्रिया