
'अपराध नियन्त्रण गर्न सबैको सहयोग र सहकार्य महत्वपूर्ण हुन्छ'
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान तथा नियन्त्रणमा नेपाल प्रहरी अब्बल रहेको बताएका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत स्नातकोत्तर तहका विभिन्न संकायका विद्यार्थीहरुबीच आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त धारणा व्यक्त गरेका हुन् ।
उनले राज्यको अग्रपंक्तिमा रहेर कानून कार्यान्वयन गर्ने नेपाल प्रहरीले अपराध नियन्त्रण गर्न अब प्रविधि अपरिहार्यता भएको बताए । सीमावार्ती अपराध, लागूऔषध, साइबर अपराध तथा सामाजिक संजालको दुरुपयोगजस्ता गतिविधि अहिलेको चुनौती भएको बताउँलै खनालले त्यस्ता अपराध नियन्त्रण गर्नका लागि सुरक्षा निकायको मात्रै नभई सबै समुदायको सहयोग र सहकार्य महत्व हुने धारणा व्यक्त गरे ।
उनले सीमित साधन श्रोत तथा जनशक्तिको उपलब्धतामा प्रहरीले पूर्ण लगावकासाथ सम्पादन गरेका कार्यप्रति समाजको दृष्टिकोणमा पनि सही बुझाई हुनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘नेपाल प्रहरी हामी सबैको प्रहरी हो, यसको काम, कर्तव्य तथा प्रदान गर्ने सेवालगायत विविध बिषय सो अवधारणामा समेटिएको छ ।’
सो अवसरमा उनले विद्यार्थीहरुको जिज्ञासाहरुको निरुपण गर्दै विगतको भन्दा प्रहरीले बोली, वचन र व्यवहारमा परिस्कृत भई थप उत्कृष्ट नागरिक केन्द्रीत सेवा प्रदान गरिरहेको बताए । सो कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री, त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका प्रमुखहरु लगायत प्रहरी वरिष्ठ अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया