
१३ औं साग: तेक्वान्दोमा पुम्से विधाततर्फ नेपाललाई ७ स्वर्ण
काठमाडौं । घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्से विधाततर्फ नेपालले कुल ७ स्वर्ण जितेको छ । सात दोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा मंगलबार सम्पन्न १३ स्वर्णको प्रतिस्पर्धामा नेपालले ७ स्वर्ण जितेको हो । त्यस्तै श्रीलंकाले तीन स्वर्ण जित्दा भारतले दुई र बंगलादेशले एक स्वर्ण हात पार्न सफल भयो ।
नेपालका लागि आयषा शाक्यले दुई स्वर्ण दिलाउँदा पार्वती गुरुङ, सिना मादेन र कमल श्रेष्ठले पनि स्वर्ण जिते । नेपालले महिला टिम पुम्सेततर्फ १७–२९ वर्ष उमेर समूह (निसा दर्नाल, स्वस्तीका तामाङ र सञ्जिला तिमल्सिना) र २३ वर्षमाथि उमेर समूह (निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई) मा स्वर्ण जित्न सफल भएको हो ।
नेपालका लागि आयषाले २९ वर्ष माथिको व्यक्तिगत पुम्से र जोडी (सञ्जीवकुमार ओझासँग मिलेर) गरी दुई विधातर्पm स्वर्ण दिलाइन् । व्यक्तिगत विधाततर्फ आयषाले ८.९४० र भारतकी प्रजक्ता प्रकाशले ७.६४० स्कोर ल्याइन् । यस विधामा श्रीलंकाकी गायत्री सन्दामर्ली(७.७५५०) ले र निसा महरुन(७.३६०) ले कांस्य पदक जितिन् ।
२९ वर्षमाथिकै जोडी पुम्सेमा आयषा र सञ्जीव कुमार ओझाको जोडी (८.१६)ले पाकिस्तानका महरुन र सहबाज अहमदको जोडी (७.८६) लाई पछि पारेका थिए । यस विधामा श्रीलंकाका लक्ष्क्ष्मन एन्डिस र गायत्रीको जोडी (७.८६०) तथा बंगलादेशका दिपु चक्मा र मौसुमको जोडीले कांस्य पदक जिते ।त्यसैगरी नेपालका लागि महिला पुम्सेतर्फ पार्वती गुरुङ र सिना मादेन तथा पुरुष पुम्सेमा कमल श्रेष्ठले स्वर्ण दिलाए ।
सिनाले १७ देखि २३ वर्ष, पार्वतीले २३ देखि २९ वर्ष र कमलले २३ देखि २९ वर्षउमेर समूहमा स्वर्ण जितेका हुन् । सिनाले ८.२५० स्कोर ल्याउँदा भारतकी रूपमा बायोरले ८.१३० स्कोर ल्याइन् । यस विधामा श्रीलंकाकी इसुरी मेन्डिस र बंगलादेशका अकिरी अक्तेरले कांस्य जितिन् । २३ देखि २९ वर्ष उमेर समूहमा स्वर्ण विजेता पार्वतीले ८.२५० अंक ल्याउँदा रजत विजेता श्रीलंकाकी रनपतिपुरा जयविरालले ८.१४० अंक ल्याइन् । यस विधामा बंगलादेशकी नुरनहर अक्तेर र भारतकी हर्षा सिंघाले कांस्य पदक जितिन् ।
सोही उमेर समूहमा नेपालका कमलले स्वर्णका जित्दा ८.२७० अंक ल्याए । भारतका राहुल जैनले ८.१८० ल्याउँदा रजत पदकमै खुम्चिए । यस विधामा श्रीलंका निसाकां जय सिंघे (८.१५) र बंगलशादेशका मेहदी हसन (८.०६०)ले कांस्य पदक जिते । १७ वर्षदेखि २३ वर्षउ मेर समूहको व्यक्तिगत पुम्सेमा भने नेपालका कृष्णबहादुर तामाङ रजत पदकमा खुम्चिए । कृष्णबहादुरले ८.२०० ल्याउँदा श्रीलंकाका रनुका प्रभाथ मेनिक पेडीले ८.२५० अंक ल्याए ।
यस विधामा भारत लालथला मुइनपुई (८.१२०) र बंगलादेशका कमरुल इस्लाम (८.०९०) ले कांस्य पदक जिते । पुरुष २९ वर्षमाथिको पुम्सेमा बंगलादेशका दिपु चक्म (८.११०) ले स्वर्ण जित्दा श्रीलंकाका लक्षमन एन्ड्रिस (८.११०) लाई पराजित गरे । यस विधामा नेपालका रेजिन धिमाल (८.०१०) र भारतका गाङफुङ गाङ्स (८.०३०) ले कांस्य पदक प्राप्त गरे ।
१७ देखि २३ वर्ष उमेर समुहको पेयर पुम्सेमा श्रीलंकाले स्वर्ण, भारतले रजत तथा नेपाल र बंगलादेशले कांस्य पदक जिते । २३ वर्षदेखि २९ वर्षउमेर समूहको पेयर पुम्सेमा भने भारतले स्वर्ण जित्दा गौरव सिंह र हर्षा सिंघेको जोडीले सफलता दिलाए । यस विधामा श्रीलंकाकाले रजत प्राप्त गर्दा नेपालका जीतबहादुर बोट र पार्वती गुरुङ तथा बंगलादेशका मेहदी हसन र नुरनहरले कांस्य पदक जिते ।
प्रतिक्रिया