
कोरोना भाइरसको महामारी र त्यसका सकरात्मक पाटा
सारा दुनियाँलाई आक्रान्त बनाइरहेको र नामै मात्र सुन्दा पनि सबैलाई आङैसिरिड्ड पार्ने कोरोना भाइरस (कोभिड-१९) भित्र के सकरात्मक पाटाहरु पनि होलान ? यो प्रश्नले तपाइलाई पक्कै पनि गम्भीर बनाउने छ । हो पक्कै पनि यसका सकरात्मक पाटाहरु पनि छन् । यसका बारेमा यहाँहरुसमक्ष मेरा निजी विचारहरु बहस र छलफलका लागि तपाईहरुसमक्ष पस्कन चाहन्छु ।
कोरोना भाइरसको संक्रमणले यति बेला सिंगो विश्व आक्रान्त बनिरहेको छ । विश्वका शक्ति राष्ट्रहरु (जो क्षणभरमै विश्व खरानी बनाउन सक्ने क्षमता राख्छन्) आज आएर उनीहरु एउटा अदृष्य कोरोना भाइरका कारण बन्द कोठाभित्र बस्न विवस भएका छन् । कोरोना भाइरसले विश्वका शक्ति राष्ट्रहरुलाई नराम्रोसंग घुँडा मात्र टेकाएन । घुँडा टेकेर कानै समाउने अवस्थामा पुर्याएको छ ।
तर, सारा दुनियाँ कोरोना कोरोना भन्दै कोरोनाकै पछि दौडिरहेको परिपेक्क्षमा मेरो फरक धारणा छ । किनकी कोरोना कहरले हामीलाई धेरै ठूलो पाठ पनि सिकाएको छ । हामीले हरेक व्यक्तिसंगको पहिलो भेटमा नमस्कार गर्न भूलिसकेका थियौं । नमस्कारको सट्टा हाई हेलो र अंकमाल गर्ने भएका थियौं । यो पश्चिमा संस्कार थियो र हो ।
धेरैले नक्कल गर्न खोजेका भएता पनि आफ्नै संस्कार र संस्कृति (जो पूर्वीय दर्शनले मान्दै आएको थियो ) यतिबेला विश्वसामु अग्र पन्तिमा रहेको पाइएको छ । पूर्वीय दर्शनशास्त्र अनुसार मान्छेका हातका पाँच औंलाहरुले उर्जाका पाँच रुप जल, अग्नी, बायु, आकाश र पृथ्वीलाई प्रतिनिधित्व गर्दछ । हामीले गर्ने नमस्तेमा ठूलो भाव रहेको पाइन्छ ।
त्यसैले अहिले आएर पुनः हामी नमस्ते गर्ने भएका छौं । नमंअस्ते को संयोजनबाट ‘नमस्ते’ शव्दको निर्माण भएको छ । ‘नम’ भनेको झुक्नु र ‘अस्ते’ भनेको अहंकारले भरिएको हाम्रो शिर झुकाउनु भन्ने भाव रहेको पाइन्छ । हामीले हरेक नयाँ भेटमा नमस्ते गर्ने गर्दछौं । ‘नमस्ते’ गर्नु भनेको दर्शन शास्त्र र स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै लाभदायीक मानिएको छ ।
कोरोनाले सिकाएको सकरात्मक पाटो धेरै छन् । हामी विहान उठ्न ेवित्तिकै पहिला घर कँसेर लगाई रातो माटोले चुलो अँगेनो पोत्ने र गाइको गोबरले घर लिप्ने गर्थ्यौं । तर आज आएर कुचोले बडार्ने मात्र गर्न थालिसकेका थियौं । रातो माटो किटाणुरहित हुने गर्दछ भने गाइले विभिन्न प्रकारका जडिबुटी खाएको हुन्छ, उक्त गोबरले घर लिप्दा घरमा भएका सम्पूर्ण किटाणुहरु पनि नास हुने र घर पनि सफा हुने भनाई छ ।
जसलाई विज्ञानले समेत मानिसकेको छ । त्यस्तै, साबुनको आविश्कार नहुँदा पनि हामीले खरानीले लुगा धुने गथ्यौं । दिशापिसाव गएर आएपछि खरानी पानीले हात धुने हामीहरु अहिले ट्वाइलेट पेपर प्रयोग गर्ने भएका छौं । हात धुन अल्छी गर्ने भएका थियौं । खाना खाएपछि अँगेना छेउमा बसेर हात सेक्थ्यौं । तर हामीले हात सेक्न छाडिसकेका थियौंं ।
हात सेक्दा एक त हातमा भएका किटाणु नास हुने अर्को कुरा हामीलाई चिसो नलाग्ने हुन्छ । हात सेक्नु पनि स्वास्थ्यका दृष्टिकोणले लाभदायी मानिन्छ ।खाना खाइसकेपछि घरका सबैजना अँगेनोको वरिपरी बसेर भोलीको कार्य योजना बनाउनेहरु आज आएर खाना खाने बेलामा पनि म्यासेज गर्नुपर्ने भएका हामीलाई पुनः कोरोनाले एकजुट गराएको छ । सरसफाइमा ध्यान दिनुपर्ने ज्ञान दिएको छ ।
दिनभरीको धुलो मैलो हातमा त्यतिकै हुन्छ । यसो हेर्दा हात सफा जस्तै दखिन्छ । भोकका सुरमा हातै नधोई विभिन्न रेष्टुरामा गएर खाने हात अहिले साबुन पानीले हात नधोई केही पनि खाने कुरा खानु हुन्न, हात नधोई खाने कुरा छुनु हुन्न, खाने कुरा बनाउनु हुन्न भन्ने ज्ञान दिएको छ । कोरोनाले मानिसको बन्द आँखा र दिमाग नै खुलाईदिएको छ ।
घर परिवारबाट छुट्टिएर टाढा भएकाहरुलाई कोरोनाले एकजुट गराएको छ । विछोडिएकाहरुलाई मिलन गराएको छ । जन्मने वितिकै मोन्टेश्वरी र होस्टेल बस्ने छोरोछोरीहरुले आमा बुबाको माया पाएका छन् । कतिपय छोराछोरीलाई आमाबुबाको माया ममता कुन चरीको नाम हो भन्ने भइसकेको थियो । ती साना–साना नानीबाबुहरुले आफ्नो आमाबुबाको माया ममताको अनुभव गर्न पाएका छन् ।
आफूलाई सँधै व्यस्त छु भन्नेहरुले आज फूर्सद पाएका छन् । घरपरिवारलाई समय दिन पाएका छन् । विद्वानहरुले आफ्नो भनाई सामाजिक सञ्जालमा पोष्ट गर्न थालेका छन् । विद्वानहरुको मुखराविन्दुबाट निस्किएको पुष्प वाणिहरुबाट धेरैले ज्ञान आर्जन गर्न पाएका छन् । योगा कसरत गर्न पाएका छन् । कसैले कलम चलाउन थालेका छन् भने कयौंले आफूसँग भएको ज्ञान, सीप क्षमता तथा कला प्रस्फुटन गर्ने सूवर्ण मौका पाएका छन् ।
धेरै व्यक्तिहरु टिकटकमा छाएका छन् । टिकटककै माध्यमद्वारा कलाकारितामा फड्को मारेका छन् । कतिले पाक कला सिकेका छन् त कतिले गहन अध्ययन गर्ने समय पाएका छन् । दशकौं दशकदेखि बाँझो रहेको जमिनमा खेती गर्न थालिएको छ । कृषि पेशालाई घृणा गर्नेहरु जमिनमा मात्र हैन कौसीमा पनि खेती गर्ने भएका छन् । कमसेकम आफ्नो लागि पुग्ने तरकारी मात्र भने पनि आफैं उत्पादन गर्ने भएका छन् ।
खानका लागि बाच्नेहरु आज बाँच्नका लागि खाने भएका छन् । विहान उठ्ने बितिकै स्टार होटलको पिजा र वर्गर नखाई नसक्नेहरु हिजोआज गाउँमा ढिँडो र गुन्द्रुक मज्जासँग खाएर रमाइरहेका छन् । आखिर मान्छेले जति नाटकमञ्चन गरेता पनि बास्तविकताबाट टाढा भाग्न सक्दो रहेनछ । तपाइका लागि ज्यान दिन्छु भन्ने आफन्तहरु कोरोना कहरका बेला ‘म पनि तपाँइको घरमा आउँदिन, तपाँइहरु पनि हाम्रो घरमा नआउनुहोला भनेर सामाजिक सञ्जलका भित्ताहरुमा भैंसीजत्रा अक्षरले लेखेर टाँस्न थालेका छन् ।
आफन्तहरु चिन्ने सुवर्ण मौका हो यो । गर्लफ्रेन्ड र व्याइफेन्डका लागि रेष्टुरेन्टमा बसेर हजारौं खर्च गर्नेहरु आज आएर एक मुठो साग किनेर ल्याउने भएका छन् । म तपाइहरुको लागि जे पनि गर्छु भन्नेहरु आज आफ्नो लागि मात्र गर्ने भएका छन् । समाज सेवामा नाम कहलिएका आफूलाई समाजसेवी भनेर परिचय गराउनेहरु आज आएर उनीहरुलाई चिन्ने मौका मिलेको छ । समाजसेवीहरु समाजसेवी नभई व्यक्तिसेवी भएको आमजनमानस समक्ष छर्लङ्ग भएको छ ।
आफन्तहरुले सहयोग माग्छन् कि भनेर फोन उठाउन छोडेका छन् । तपाइले गरेको म्यासेज पुग्न नपाउँदै रिप्लाई गर्नेहरु आज तपाइको म्यासेजको रिप्लाई दिन छाडेका छन् । आफ्नो भन्ने मान्छे पनि आफ्नो हुन्न रहेछ भन्ने ज्ञान पाएका छौं । चुनाबको बेला तपाई हाम्रो घरदैलोमा आएर दुई हात जोड्दै भोट माग्नेहरुले अहिले आएर तपाई हामीलाई माग्ने बनाएका छन् । सरकारमा पटक–पटक व्यक्ति फेरिए तर व्यवस्था नफेरिएको महसुस गर्न पाएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रलाई ‘सेवा क्षेत्र’ भन्नेहरु आज आएर अधिकांस यो क्षेत्र सेवामूखी होइन रहेछ ।
यो त माफियाहरुले सञ्चालन गरेको भन्ने थाहा भएको छन् । शिक्षा र स्वास्थ्य क्षेत्र पनि सेवामूखी नभई व्यवसायी रहेछ भन्ने सबैले बुझ्न पाएका छन् । सत्ता, शक्ति र सम्पतिले जे पनि गर्छु भन्नेहरुलाई कोरोना भाइरसको कहरले लोप्पा खुवाइदिएको छ । सत्ता, शक्ति र सम्पति त केबल क्षणिक रहेछ, यो साध्य होइन मात्र साधन रहेछ भन्ने भनाई पुष्टि भएको छ ।
आज हेर्नुहोस् त ! हामीले दुई हात र दुई खुट्टा अनि दुनियाँ ढाँटी-ढाँटी चिल्ला खस्रा कुरा गरेर कुदी-कुदी कमाउन खोजे पनि गोजी भरिएको छैन । वेदले भनेको छ, 'संगै हिँड, सँगै खाऊ, सँगै बस, भाइ-भाइमा एक आपसमा लडाँई झगडा नगर । यस संसारमा त्यो ठूलो, म ठूलो, हानाहान, तानातान नगर ।हेर, सँगै हिँड, सँगै बस, सँगै खाओ । एक-एक मिल्यो भने दुई हुन्छ, दुई-दुई मिल्यो भने चार हुन्छ, चार-चार मिले घर परिवार ।' वेदको यो भनाइले हाम्रो बन्द आँखा उघारिदिएको छ ।
आखिर यो जगतमा यस्तो खाएँ । उस्तो खाएँ । केएफसी, फाइभस्टार, कहाँ–कहाँ क्यासिनो स्यासिनो गएर, विभिन्न रेष्टुरामा गएर खाँदा पनि यो अभागी पेट कहिल्यै भरिएको छैन । हो पनि आखिर ! प्रकृतिले हामीलाई पटकपटक सिकाइरहेको छ, बैशाखको जस्तो टन्टलापुर घाम पुष माघमा कहाँ पाइन्छ र ? आँग्नमा जन्मेर थाङ्गनामा हुर्केकाहरुले फूर्ति किन धेरै गर्नु र ? हामी जे हौँ, त्यही बन्नौं, हामी जे होइनौं, त्यो बन्ने कोसिस कदापी नगरौं ।
सवैको मंगलहोस्, सवैको भलो होस् । अस्तु !
(समाजसेवामा सक्रिय घिमिरे मन्थली नगरपालिका-४ सालु, रामेछापका स्थायीय हुन्)
प्रतिक्रिया