
महिलालाई मित्रताको पासो फालेर १० लाख ठगी, समातिए रुपचन्द्र
स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक जना महिलासँग १० लाख रुपैयाा ठगी गरेको अभियोगमा एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नमबर-४ का २७ वर्षीय रुपचन्द्र पाण्डे रहेका छन् ।
उनले बिदेशमा रहेका आफ्नो परिवारका सदस्य गम्भीर बिरामी भएको भन्दै आफूलाई ठूलो समस्यामा परेका देखाएर ती महिलालाई ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
यसरी भएको थियो मित्रताः
अभियुक्त पाण्डेले सुरुमा महिलालाई फेसबुकमार्फत साथी बनाए । त्यसपछि बिस्तारै नजिकिँए । महिलासँग प्रेममा परेको नाटकमञ्चन गरे । महिलालाई पूर्णबिश्वासमा लिइसकेपछि बिस्तार आफ्ना समस्या सुनाउन र सहयोग गर्न आग्रह, अनुनय, विनय गरे ।
त्यसपछि ती महिलाले पटकपटक गरेर उनलाई १० लाख २८ हजार ७ सय रुपैयाँ दिइन् । उनले तत्काल फिर्ता गर्छु भनेर लाखौं लिएता पनि नदिएपछि अन्ततः पीडित महिला आफू ठगीको महसुस गरी प्रहरीको शरणमा पुगिन् ।
स्याङ्जा प्रहरीले अभियुक्त पाण्डेलाई बाँके प्रहरीको सहयोगमा नेपालगञ्जबाट पक्राउ गरी ‘आपराधिक विश्वासघात तथा आपराधिक लाभ’ सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।
स्याङ्जा प्रहरीका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार जिल्ला अदालतबाट अभियुक्त पाण्डेलाई ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया