
महिला जिस्काएको निहुँमा प्रहरी चौकीभित्रै दुई समूहबीच झडप
बैतडी । पञ्चेश्वर गाउँपालिका-५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको छ । गणमेश्वर मन्दिरमा लागेको मेलामा महिलालाई जिस्काएको निहुँमा दुई समूहबीच झडप भएपछि छलफलका लागि प्रहरी चौकीमा बोलाएका बेला पुनः झडप भएको हो ।
बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार युवाको दुई समूहबीच प्रहरी चौकीमै झडप हुँदा पञ्चेश्वरका ३० वर्षीय लोकेन्द्र चन्द घाइते भएका छन् । घाइतेको बैतडीमा उपचार हुन नसक्दा धनगढीमा रहेका माया मेट्रो अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ ।
घाइते चन्दको टाउको घाँटी, ढाडमा चोट रहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । चौकीमा झडप गर्नेमध्ये सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बैतडीले ६ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।
घटनाका विषयमा अनुसन्धान भइरहेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ । झडपका क्रममा प्रहरी चौकीमा पनि सामान्य तोडफोड भएको छ । आजको समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया