
सर्लाहीको मलंगवामा यसरी सम्पन्न भयो दाईजो बिना नै आदर्श विवाह
सर्लाही । गत सोमवारका दिन सर्लाहीको सदरमुकाम मलगंवामा दाइजो प्रथालाई चुनौती दिदै आदर्श विवाह सम्पन्न भएको हो ।
मलंगवा नगरपालिका वडा नं. ९ निवासी राजिनन्द महतोको छोरी पुजा कुशवाहा र सुनसरी देवानगञ्ज गाउँपालिका वडा नं. २ निवासी हरिलाल मेहताको छोरा अशोक मेहताबीच आदर्श विवाह सम्पन्न भएको हो ।
तराईमा जरो गाडेको दाइजो प्रथालाई चुनौती दिदै बेहुला अशोक मेहताले स्वघोषणा आदर्श विवाह गरेका हुन् ।
तराई मधेशमा विपन्नदेखि हुनेखाने परिवारिक पृष्ठभूमि बोकेका युवा समेतले विवाहमा दाइजो प्रथालाई प्रोत्साहन गरिरहेको तथा अझै सरकारी जागिरे युवाको दाइजो मोह र दाइजो मागले समाज अक्रान्त बनिरहेको बेला सुनसरीको इनरवा नगरपालिकामा लेखा अधिकृत पदमा कार्यरत बेहुला मेहताको आदर्श विवाहबाट समाजमा सकारात्मक संदेश प्रवाह हुने र दाइजो प्रथा न्यूनिकरणमा ठोस कदम पुग्ने स्थानीयको विश्वास छ ।
शिक्षा विकास तथा समन्वय इकाइ महोत्तरीमा प्राविधिक सहायक पदमा कार्यरत बेहुली पुजा कुशवाहाका मामा शुनिल कुशवाहाका अनुसार यो आदर्श विवाहसँगै उनको परिवारमा आदर्श विवाह गर्नेको संख्या चार पुगेको छ । तराई मधेशमा छोरी चेलीलाई हेर्ने दृष्टिकोण परिवर्तनको लागि दहेज प्रथालाई न्यूनिकरण गर्ने परम उद्देश्यले आफैबाट आदर्श विवाहको शुभारम्भ गरेका उनले बताए ।
निकट भविष्यमा पनि यो कामलाई निरन्तरता दिने संकल्प लिएको उनले बताए । उनले भने, 'हामी प्रत्येक युवाले तराई मधेशमा रहेको दाइजो प्रथालाई न्यूनिकरण गर्न सकारात्मक एवं रचनात्मक भूमिका खेल्नु अपरिहार्य रहेको छ । हामी तपाईंको सहयोगले हाम्रो समाजमा रहेको कुरिती, कुसंस्कृती, अन्धविश्वास र असमानता बिस्तारै न्यूनिकरण भएर जानेछ ।'
उनले थप भने, 'बेहुला मेहताको यस कदमलाई हामिले हृदयदेखि नै स्वागत तथा सम्मान गर्छौं । साथै वैवाहिक बन्धनमा बाधिएकी बेहुली पुजा कुशवाहा र बेहुला अशोक मेहतालाई वैवाहिक जीवनको हार्दिक बधाई तथा सुखद नवदाम्पत्य जीवनको सफलताको मंगलमय शुभकामना ब्यक्त गछौं ।'
प्रतिक्रिया