
साग स्वर्णधारी पार्वतीलाई स्वर्ण
काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोकी स्वर्ण विजेता पार्वती गुरुङले प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छिन् ।
महिला १८-३० वर्षमा नेपाल प्रहरीकी पार्वतीले ७।५० अंक जोडिन् । सैलुङ तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगिताको महिला १५ वर्षमा सुपर स्टार तेक्वान्दो डोजाङकी माया मल्ल ६.६६ अंकसाथ पहिलो भइन् ।
सोही स्पर्धाको पुरुषमा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का आयुश ढुंगेल पहिलो भए । उनले ६.३६ अंक प्राप्त गरे । सैलुङ गाउँपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पुरुष १० वर्षमा एनटीएका प्रशान्त धमलाले स्वर्ण जिते ।
उनले ५.५३ अंक जोडे । पुरुष १२ वर्षमा एनटीएका भिजन तामाङ ५.८० अंक जोड्दै शीर्ष स्थानमा रहे । महिला ३१-४० वर्ष स्पर्धामा ६.३० अंक जोडेकी तृप्ति बुढाथोकी पहिलो भइन् । प्रतियोगिताको सैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले एक कार्यक्रमबीच उद्घाटन गरे ।
सो अवसरमा तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । २ सय खेलाडी सहभागी दुईदिने प्रतियोगितामा विभिन्न १४ स्पर्धा समावेश छन् ।
प्रतिक्रिया