
गाँजालाई वैधानिक रुपमै खुल्ला गर्नुपर्नेे विश्वहिन्दू युवा संघको माग
काठमाडौँ । विश्वहिन्दू युवा संघले गाँजालाई बैधानिक रुपमा खुल्ला गर्नुपर्ने माग गरेको छ । संघले गाँजा जडिबुटी भएकाले वैधानिकरुपमै खुल्ला गर्नुपर्ने माग राखेको हो ।
कार्यक्रममा विश्वहिन्दू युवा संघले नेपालका सम्पूर्ण जातजातीका मौलिक धर्म रितिरिवाज, संस्कृति, भेषभुषा, लिपीलगायतको संरक्षण र विकास गर्नुपर्नेमा जोड दिएको थियो । नेपालमा रहेका बहुमूल्य जडिबुटी, रुखविरुवाको व्यवसायिक खेती गरेर विश्व बजारमा पुर्याउनुपर्ने संघले माग राखेको छ ।
कार्यक्रममा विश्वहिन्दू युवा संघका संयोजक ऋषि केशजंग शाहले विभिन्न षड्यन्त्रद्वारा नेपालको बहुमुल्य बनस्पती गाँजामाथि लगाईएको प्रतिबन्धलाई हटाउन आगामी पौष २७ गते राष्ट्रिय दिवसको अवसरमा मैलिक पोशाक र गाजाबाजासहित माइतीघर मण्डलामा भव्य प्रदर्शन गर्ने बताए । उनले भने,‘देशभर गाँजाको महत्व र यसबाट हुने विभिन्न उत्पादनका बारेमा जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिने छ ।’
कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य गेली शेर्पा, रमेश कुँवर र बाल क्लबका अध्यक्ष मनोज थापाले संयुक्त रुपमा नेपालमा गाँजा माथि लगाइएको प्रतिबन्ध हटाउन र बैधानिकता दिनुपर्नेमा जोड दिए ।
संघका केन्द्रीय सदस्य शेर्पाले भने,‘नेपाललाई गााँजामाथिको प्रतिबन्ध हटाउनुपर्छ । नेपालका आधाभन्दा बढी जनसंख्या गाँजालाई बैधानिकता दिँदा समृद्व हुनेछ ।’ अगामी पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा माइतीघर मण्डलामा भव्य प्रदर्शन गर्ने समेत उनीहरुको भनाई थियो ।
प्रतिक्रिया