
चक्रघट्टामा काँग्रेस र नेकपाका कार्यकर्ताबीच झडप, यसरी फुटाइयो गाडी
सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा रहेको बजार सेटको सार्वजनिक भवन खाली गराउन खोज्दा नेपाली काँग्रेस र नेकपाका कार्यकर्ताबीच आइतबार झडप भएको छ । बजार सेटको भवन गाउँपालिकाकै वडा नम्बर-६ गोइयाहीका स्थानीय नेपाली काङ्ग्रेस कार्यकर्ता जिनिस साहले व्यापारिक प्रयोजनका लागि प्रयोग गर्दै आएका थिए ।
सो बजार सेटको भवन खाली गर्नका लागि पालिका अध्यक्ष बिक्रम यादवले मौखिक तथा लिखित रुपमा अनुरोध गर्दा समेत साहले खाली नगरी उल्टै साहका छोरा ठगा भनेर चिनिने रवि साहले धम्काएका थिए । काङ्ग्रेसबाट विजयी भएका वडा नं. ६ र ९ का वडाध्यक्षद्वय प्रेम राय र राम इश्वर ठाकुरको नेतृत्वमा करिब पाँच सयको हाराहारीमा आएका काङ्ग्रेसका कार्यकर्ताहरुले पालिका अध्यक्ष यादवको विरुद्धमा नाराबाजी गर्दै पालिकाको कार्यालयमा तोडफोड तथा ढुङ्गामुढा गरेका थिए ।
ढुङ्गामुढामा उत्रेका काङ्ग्रेस कार्यकर्ताहरुले पालिका अध्यक्ष यादवमाथि समेत ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारले पालिका अध्यक्ष यादवले प्रयोग गर्दै आएका ना १ झ १७०० नम्बरको सरकारी प्लेटको गाडी लगायत ३ वटा मोटरसाइकलमा समेत क्षति पुगेको छ । साथै पालिकाको कार्यालयमा रहेको कम्प्युटर र दराजहरु समेत तोडफोड गरिएको छ ।
पालिका अध्यक्ष यादवका अनुसार, कार्यालयमा रहेको तीन वर्षदेखिको गाउँसभाको माइन्युट रजिस्टर, ल्यापटप १ थान र टैब ५ थान समेत लुटिएको छ ।
उनले भने, 'स्थानीय सरकार संचालन ऎन अनुसार सो बजार सेट खाली गराएर सोही भवनमा पालिकाले ५ बेडको कोरोना अस्पताल बनाउन लागेको थियो ।' पाँच सयको हाराहारीमा आएका काङ्ग्रेस कार्यकर्ताहरुले अध्यक्ष यादवलाई गाउँपालिकाकै निर्माणाधीन भवनमा घेरेर राखेको कुरा जानकारी प्राप्त भए लगतै झडपको अवस्थालाई तत्काल नियन्त्रणमा लिनका लागि सर्लाही प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरको कमान्डमा गएको प्रहरी टोलीले स्थितिलाई नियन्त्रणमा लिएको थियो ।
पालिका अध्यक्षको सुरक्षाको दृष्टिकोणलाई पहिलो प्राथमिकतामा राखी एसपी राठौरले अध्यक्ष यादवलाई आफ्नै गाडिमा राखेर घर पुर्याएका थिए । काङ्ग्रेस कार्यकर्ता जिनिस साहले सो बजार सेटको भवनमा लेथ मेसिन संचालन गर्दै आएका थिए । झडपमा चक्रघट्टा वडा नम्बर-७ का स्थानीय नेकपा कार्यकर्ता नवीन राय र काङ्ग्रेस कार्यकर्ता जिनिस साह घाइते भएका छन् ।
घाइते दुबै जनाको जिल्ला अस्पताल मलगंवामा उपचार भइरहेको छ । तत्कालीन नेकपा माओवादी पार्टीबाट गाउँपालिका अध्यक्ष बिक्रम यादव विजयी भएका थिए ।
प्रतिक्रिया