
२०औं सशस्त्र प्रहरी दिवस: प्रभातफेरी कार्यक्रमको आयोजना
काठमाडौं । २०औं सशस्त्र प्रहरी दिवस २०७७ को अवसरमा सशस्त्र प्रहरी बलले बिहीबार बिहान सहभागितामुलक प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी, रामशरण पौडेललगायत एपीएफ अधिकृत तथा विल्लादार जवानहरुको सहभागिता रहेको थियो ।
सशस्त्रको बैण्डसहितको उक्त प्रभातफेरी कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कँडेल खनाललगायत संघका पदाधिकारी, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी तथा नेपाल एपीएफ क्लबका खेलाडीहरुको समेत सहभागिता रहेको थियो ।
‘समृद्ध नेपाल सुखी नेपाली’, जनताको सेवा र सुरक्षा सशस्त्र प्रहरीको
प्रतिबद्धता, मास्कको अनिवार्य रुपमा प्रयोग गरौं, भौतिक दुरी कायम गरौं,
साबुन पानीले बारम्बार हात धोऔं' भन्ने लगायतका सचेतनामूलक नारासहित
सशस्त्रको मुख्यालय हल्चोक स्वयम्भूबाट सुरु भएको उक्त प्रभातफेरी स्वयम्भूचोक, भगवानपाउ, छाउनी हुँदै हल्चोकमै पुगेर सामापन भएको थियो । यस खालका सहभागितामुलक प्रभातफेरी कार्यक्रमको आयोजनाले सामूहिक भावनाको विकास गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने सशस्त्र प्रहरीको विश्वास छ ।
प्रतिक्रिया