
मदनपुर-पिपरिया कालोपत्र सडकको यसरी गरियो शिलान्यास
सर्लाही । सर्लाहीको कबिलासी नगरपालिकाले विकास निर्माणका कामलाई तीव्रता दिएको छ । मदनपुरको बाल्मिकी आश्रमदेखी गर्गटनाथ-गढिमाई-सर्लहिया हुँदै पिपरिया बजारसम्मको कालोपत्र सडक निर्माण कार्यको आज कबिलासी नगरपालिकाका मेयर कौशल किशोर यादवले शिलान्यास गरेका छन् ।
साढे ५ किलोमिटर लामो कालोपत्र सडक निर्माण कार्यको सोमबार शिलान्यास गर्दै मेयर यादवले भने, 'जनताको आधारभूत आवश्यकता अन्तर्गत सडक देश बिकासको मेरुदण्ड भएको छ । जनताका चाहना र आवश्यकतालाई पूरा गर्न कबिलासी नगरपालिका गम्भीर छ ।'
मदनपुर-पिपरिया कालोपत्र सडकको निर्माणले स्थानीय जनताहरुको जीवनस्तर उकास्न मदत पुग्ने मेयर यादवले विश्वास व्यक्त गरे । कालोपत्र सडक निर्माण भएपछि यहाँका किसानहरुले उत्पादन गरेको कृषि उपजको बजारसम्म सहज पहुँच हुनुका साथै उत्पादनमा समेत वृद्धि हुने उनले बताए ।
राष्ट्रिय योजना आयोग र कबिलासी नगरपालिकाको ५०/५० प्रतिशतको लगानीमा डेढ वर्षको अवधिभित्र सडक निर्माणको काम सक्नेगरी हिम्डङ्ग एण्ड थोकर आश्रय निर्माण सेवा जेभिले ६ करोड २० लाख ७२ हजार ६ सय ३४ रुपैयाँ उनान्नब्बे पैसामा ठेक्का लिएको हो ।
प्रतिक्रिया