
यस्तो छ ‘मेरो नाम चाहिँ खलासी’ (भिडियोसहित)
काठमाडौं । रङ्गकर्मी सुजन खतिवडा र्याप गीत ‘खलासी’ मा देखिएका छन् । ‘मेरो नाम चाहिँ खलासी’ बोलको गीतमा र्यापर प्रोस्टेनको आवाज रहेको छ । अमेरिका रहेर नेपाली हिप संगीतलाई हुर्काइरहेका प्रोस्टेनले डेढ वर्षअघि रचना गरेर गाएको उक्त गीतको बाँकी काम लकडाउनले गर्दा रोकिएको थियो ।
भक्तपुर स्थायी घर भएका २३ वर्षीय प्रशान्त पराजुली अहिले अमेरिकाको डल्लासमा छन् । उनले २०१९ पहिलो गीत ‘गारो छ सोल्टी’ ल्याएका थिए । जसमा अध्ययनका लागि विदेशिएका विद्यार्थीको संघर्षको कथा सुन्न पाइन्छ ।
उनले ‘भिसिट नेपाल २०२०’, ‘यात्रा’ लगायतका गीत गाएका छन् । नेपाली संगीतलाई हलिउडमा चिनाउन चाहने उनी खलासी पात्रमार्फत् आवाजविहिनहरुको आवाजलाई उठाउन चाहन्छन् ।
गीतले खलासी पेसाप्रतिको मानिसको परम्परागत कमजोर धारणामा परिवर्तन आउने उनको विश्वास छ । गीतको म्युजिक भिडियोमा खतिवडाको अभिनय रहेको छ । उक्त भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् ।
खलासी पेसा सम्मान गर्न लायक भएता पनि नेपाली समाजमा अपमान गरिने वास्तविकतालाई गीतमा उजागर गरिएको छ । खलासी पेशालाई प्रतिनिधित्व गर्दै यही कथावस्तुलाई शब्द तथा दृश्यमा उतारिएको खतिवडाले बताए ।
धादिङ गल्छी-३ छाँगेटारका सुजन केही वर्षदेखि रंगकर्मीको परिचय बनाइरहेका छन् । बिएसडब्लुमा स्नातक तहमा अध्ययन गरिरहेका उनी अनामनगरमा रहेको मण्डला थिएटरमा अभिनय सिकिरहेका छन् ।
आफ्नो पहिलो भिडियो ‘खलासी’ मा काम गर्दा यो पेशालाई नजिकबाट नियालेको र अभिनयमा अभिव्यक्त गर्ने प्रयास गरेको उनले अनुभव सुनाए ।
भिडियो:
प्रतिक्रिया