
दुई खेलअघि नै एपिएफ बन्यो महिला राष्ट्रिय फुटबल लिगको च्याम्पियन
काठमाडौं । दुई खेल अगाडि नै सशस्त्र प्रहरी बल एपिएफले महिला राष्ट्रिय फुटबल लिगको उपाधि जितेको छ । नेपाली सेना र नेपाल प्रहरीबीच भएको खेललाई प्रहरीले १-१ गोलको बराबरीमा रोकेसँगै एपिएफ दुई खेल अगाडि नै लिगको च्याम्पियन बनेको हो ।
प्रहरीले बराबरीमा रोकेसँगै सेनाको उपाधि चुम्ने यात्रामा पूर्णबिराम लागेको छ । खेलको १५ औ मिनेटमा अमृता जैसीको गोलमा नेपाल प्रहरीले पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको थियो ।
५३ मिनेटमा नेपाली सेनाकी रश्मी कुमारी घिसिङले गोल फर्काउँदै गोल बराबरी बनाइन् ।
तर सेनाले थप गोल फर्काउन नसकेपछि खेल बराबरीमा रोकिएको हो । सेना र प्रहरीबीचको खेल बराबरीमा सकिएसँगै एपिएफ दुई खेल अगाडि नै च्याम्पियन बन्न सफल भएको हो ।
प्रतिक्रिया