
अवैधरुपमा औषधीको ओसारपसार गर्ने ३ जना समातिए
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले अवैधरुपमा बिभिन्न औषधि ओसारपोसार गर्ने ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर-२ का १८ वर्षीय समीर तामाङ रहेका छन् । अवैध रुपमा बिभिन्न औषधीको ओसारपसार हुने बिशेष सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरुलाई भरतपुर-३ स्थित दिनेश तामाङको कोठाबाट लागुऔषधसहित शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
अनुमति बिना ल्याइएको ट्रामा एक हजार १६३ ट्याब्लेट, अनार्गन २५ लेखिएको ४३६ ट्याब्लेट, स्टागन ४४० ट्याब्लेट फेला परेको जनाइएको छ । यस्तै दिनेशको कोठामा रहेका समीरको साथबाट रु पाँच हजार ३२५ र मोबाइल तामाङको कोठाबाट भएको चिववन प्रहरीले जनाएको छ ।
त्यसैगरी,
विश्वकर्माको साथबाट एक लाख २९ हजार ८२२ बरामद भएको छ । उनको घरमा खानतलासी गर्ने क्रममा ट्रामा आठ हजार ७८० ट्याबलेट, स्टागन ८०० ट्याब्लेट र नगद ११ हजार रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेका तीनै जनालाई कारवाहीका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्ज पठाइएको चितवन प्रहरीले जानकारी दियो ।
प्रतिक्रिया