
दुई बर्षीय बालक अपहरणमा संलग्न आफ्नै काका कुलदिप समातिए
सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले आफ्नै दुई वर्षीय भतिजलाई अपहरण गर्ने काकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नम्बर-१ डुम्बाखाताका कुलदिप यादव र वडा नम्बर-१५ सुखचैनाका २३ वर्षीय भरोसी यादव रहेका छन् ।
गत माघ २० गते सिरहाको सिरहा नगरपालिका वडा नम्बर-१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव घरबाट बेपत्ता भएपछि खोज तलास गर्नेक्रममा नेपाल प्रहरीले इन्डियन प्रहरीसँगको समन्वयमा बालकलाई भारतको खाजेडिह भन्ने स्थानबाट गत माघ २२ गते उद्दार गर्न सफल भएको थियो ।
उक्त अपहरण काण्डको योजनाकार बालकको आफ्नै काका देखिएपछि प्रहरीले प्रहरीले उनलाई पक्राउ गरेको हो । काकाकै योजनामा भरोसी यादवले बच्चालाई अपहरण गरेर भारतको पचहर पुर्याएका थिए ।
पक्राउ परेका दुवैलाई प्रहरीले जिल्ला अदालत सिरहाबाट अपहरण तथा शरीर बन्धक मुद्दामा ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको सिरहा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया