
‘जतिसक्दो चाँडो पार्टी फुटाएर भएका सांसद जोगाउन सुझाव’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली युवा नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा बुधबारबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन् । उनले अबको प्रधानमन्त्री पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै हुने दाबी गरे ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले जतिसक्दो पार्टी फुटाएर भएका सांसदहरु जोगाउन दाहाल–नेपाल समूहलाई सुझावसमेत दिए । उनले भने,‘जतिसक्दो चाँडो पार्टी फूटाएर आफ्नो समूहमा भएका सांसदहरु जोगाउनुहोस् ।’
उनले बुधबारबाट ओली पक्षमा ९२ जना सांसद पुग्ने पनि ठोकुवा गरे । र, केही दिनभित्रै ओलीको पक्षमा ११५ जना सांसद पुग्ने पनि उनको दाबी थियो । उनले अब नेकपा एक भएर जाने सम्भावना कम रहेको भन्दै एकताका लागि धेरै जटिलता रहेको सुनाए ।
पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले सर्वोच्च अदालतको प्रतिनिधिसभा पूनःस्थापनाको फैसला आएपछि ढंग पुर्याईएन भने फेरि राजनीतिक अस्थिरता सुरु हुन्छ र विकृति सुरु हुन्छ भनेर गरिएको प्रक्षेपण क्रमशः पुष्टि हुँदै गएको सुनाए ।
उनले भने,‘यो कुरा क्रमशः पुष्टि हुँदैछ । कतिपय पर्दाभित्र पनि देखिएको छ । आजको मितिमा प्रधानमन्त्री केपी शर्मा ओली संकटमा हुनुहुन्न, बरु उहाँलाई संकटमा पार्न खोज्ने प्रचण्ड र माधव नेपाल संकटमा परेका छन् ।’
बस्नेतले अहिले दाहाल-नेपाल समूह ‘फ्रन्ट–गियर’ मा नभई ‘ब्याक-गियर’ मा लाग्नुपर्ने अवस्थामा आएको पनि चित्रण गरे । उनले दाहाल-नेपाल समूह पुष ५ गते प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट समेत ब्याक भएको टिप्पणी गरे ।
प्रतिक्रिया