
मन्त्रीले लज्जित हुँदै भने-'राजनीति गर्नु नै हामी सबैको पेशा हो'
एक पटक भियतनामका राष्ट्रपति हो चि मिन्ह भारत भ्रमणमा आएका थिए । सो भ्रमणको समयमा एउटा मिटिंगका क्रममा भारतका मन्त्रीहरु यसंग उनको कुराकानी हुन थाल्यो ।
सो सम्बादका क्रममा हो चि मिन्हले भारतीय मन्त्रीहरुलाई सोधे-'तपाईहरु के काम गर्नु हुन्छ ?' भारतीय मन्त्रीहरुले सहज रुपमा जवाफ दिए-'हामीहरु राजनीति गर्छौ ।'
हो चि मिन्हले यो उत्तर बुझ्न सकेनन् । उनले फेरि सोधे-'मेरो मतलब तपाईहरुको पेशा के हो ?' भारतीय मन्त्रीहरुले जवाफ दिए-'राजनीति नै हाम्रो पेशा हो ।'
हो चि मिन्हले अलिक चिडिदै भने-'सायद तपाईहरुले मेरो भनाइको मतलब बुझ्न सक्नु भएन । राजनीति त म पनि गर्छु तर पेशाले म किसान हुँ, म खेती गर्छु । खेतिबाटै मेरो आजीविका चल्छ । बिहान बेलुका म आफ्नो खेतमा काम गर्छु, दिउँसो राष्ट्रपतिको रुपमा आफ्नो दायित्व र कर्तब्य निर्बाह गर्छु ।'
यो कुरा सुनेर भारतीय प्रतिनिधिमण्डल स्तब्ध भयो । उनीहरुसंग यो कुराको कुनै जवाफ नै थिएन । अनि फेरि हो चि मिन्हले त्यही कुरा सोधेपछि एक जना भारतीय मन्त्रीले लज्जित हुदै भने-'राजनीति गर्नु नै हामी सबैको पेशा हो ।'
नेपालको अवस्था पनि भारत जस्तै छ, फरक छैन । यहाँ पनि राजनीतिलाई आफ्नो मूल पेशा बनाउने व्यक्तिहरुकै हालीमुहाली छ । उनीहरू केही गर्दैनन्, परजीवी हुन् । तर पेशाविदहरूलाई नै तिनले उपदेश दिन्छन् र आफै जान्ने पल्टन्छन् ।
न शिक्षा छ, न तालिम छ, न ईलम छ, न कुनै पेशा छ, न कुनै सीप छ, न कुनै जीवनमा ठोस काम गरेको प्रोफाईल छ । जो केही जान्दैनन् तिनै महाजान्ने पल्टन्छन् । बिना ईलम वा ब्यावसाय अर्बपति, करोडपति छ, विलासी जीवन तिनकै छ ।
सिन्को भॉच्न आउदैन तर मैले नै सबै गरेको भनेर फुईँ दिन्छन् ।
प्रतिक्रिया