
कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जना समातिए
भक्तपुर । प्रहरीले कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले काभ्रे कुशादेवी घर बताउने ३० वर्षीय कृष्ण गुरुङ भनिने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जनालाई आइतबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर-२ बस्ने ५० वर्षीय टेकबहादुर केसी, सोही ठाउँ बस्ने ३२ वर्षीय नविन कोजु, भक्तपुर नगरपालिका वडा नम्बर-७ बस्ने ३७ वर्षीय बिनोद लाखा, चाँगुनारायण नगरपालिका वडा नम्बर-२ बस्ने दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर-९ घर भएका ३८ वर्षीय कमल खत्री (फुँयाल) र भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर-३ बस्ने सुनसरी बर्जु गाउँपालिका वडा नम्बर-३ घर भएका ३४ वर्षीय सनिस कुमार राय रहेका छन् ।
उनीहरुले चाँगुनारायण नगरपालिका वडा नम्बर २ बर्खेपाटीमा पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते गुरुङलाई तत्काल अस्पताल लगिएको थियो । यद्यपि उनको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
घटनाको सूचना पाउनेबित्तिकै तत्काल महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते गुरुङलाई फेला पारेको थियो । प्रहरीले तत्काल कुटपिटमा संलग्नहरुलाई नियन्त्रणमा लिई गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि भक्तपुर अस्पतालमा लगेको थियो । पक्राउ परेका अभियुक्तहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया