
चार लाख घुससहित पक्राउ परेका वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौ । चार लाख रुपैयाँ घुससहित पक्राउ परेका काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा सचिव भरतकुमार पोखरेलविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
यसअघि निर्माण सम्पन्न भइसकेपछि बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले घुसको रकमसहित उनलाई रंगेहात पक्राउ गरेको थियो ।
सोही मुद्दामा अख्तियारले उनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । अनुसन्धानका क्रममा उनले रकम लिएको प्रमाणित भएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा बिशेषमा दायर गरिएको अख्तियारले जनाएको छ ।
बिगो चार लाख कायम गरी कैद सजायको मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
प्रतिक्रिया