
प्रशिक्षक अब्दुल्लाह अलमुताइरी ३ वर्ष नेपालमै रहने
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३ वर्ष सम्झौता थप गरेका छन् ।
प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमा लेख्दै कतार फुटबल संघ र अखिल नेपाल फुटबल संघ -एन्फा_ अध्यक्ष कर्मा छिरिङ शेर्पासँग छलफलपछि सम्झौता नविकरण गरेको जानकारी दिए ।
सन् २०२१ को मार्चमा नेपाल आएका अलमुताइरीले नेपाललाई गत महिना साफ च्याम्पियनसिपको उपविजेता बनाएका थिए । नेपाल इतिहासमा पहिलो पटक साफको फाइनलमा पुगेको थियो ।
नेपालले अब एसियान कप छनोटको तेस्रो चरण खेल्ने कार्यक्रम छ । यसबीच मैत्रीपूर्ण खेलको सम्भावना पनि रहेको छ ।
उनको नेतृत्वमा नेपालले जेठमा इराकविरुद्ध मैत्रीपूर्ण खेल, अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेविरुद्ध विश्वकप तथा एसियन कप छनोटको समूह चरण खेल, भारतविरुद्ध भदौमा २ मैत्रीपूर्ण खेल र गत साता साफ च्याम्पियनसिपका ५ गरि ११ खेल खेलेको छ ।
इराकविरुद्धको मैत्रीपूर्ण खेल ६–२ ले गुमाएको नेपालले छनोटमा चाइनिज ताइपेलाई २–० ले हराएको थियो । अष्ट्रेलिया र जोर्डनविरुद्धको खेल नेपालले समान ३–० ले गुमाएको थियो । भारतविरुद्ध दशरथ रंगशालामा भएको मैत्रीपूर्ण श्रृखंलाको पहिलो खेलमा १–१ को बराबरी भएको थियो भने दोस्रो खेलमा भारत २–१ ले विजयी भएको थियो । साफमा सुरुवाती दुई खेलमा माल्दिभ्सलाई १–०, श्रीलंकालाई ३–२ ले हराएको नेपालले अर्को खेल भारतसँग १–० ले गुमाएको थियो ।
राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै नेपाल फाइनल पुग्न सफल भएको थियो । साफ च्याम्पियनसिपमा नेपाली टोली सम्हाल्ने १२ प्रशिक्षक मध्ये फाइनल पुर्याउने उनी पहिलो प्रशिक्षक बनेका थिए । भारतसँगको फाइनल ३–० ले गुमाएको नेपालसँग समग्रमा उनको नतिजा ११ खेलमा ३ जित, २ बराबर र ६ हार रहेका छन् ।
प्रतिक्रिया