
काँग्रेस महाधिवेशन अब सार्न नसकिने अवस्थामा
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अब टार्न नसकिने अवस्थामा पुगेको छ । निर्वाचन आयोगको एक सन्देशले यसको नेतृत्वलाई पुरै झस्काएको छ । र, महाधिवेशन गर्नुपर्ने बाध्यतामा पुगेको छ ।
हाल प्रकाशित कात्तिक ३० देखि मंसिर २६ सम्मको कार्यसूचीमा जसरी पनि महाधिवेशन गराउनै पर्ने सन्देश दिएर सभापति शेरबहादुर देउवा बेलायततर्फ लाग्नु भएकोले केन्द्रीय निर्वाचन समिति निकै दबाबमा परेको छ ।
स्थानीय तहको निर्वाचन २०७४ को समयमा गरिएको दल दर्ताको मिति नै हाल कायम रहेको अधिकांश दलहरुको दर्ता अभिलेखको मिति कायम भएको र सो मितिले ५ वर्षको अवधि गणना गर्न लागिएको जानकारी निर्वाचन आयोगले प्रधानमन्त्री देउवाले गराएको बुझिएको छ ।
सो अनुसार आगामी पुस मसान्तसम्मका निर्वाचन प्रयोगजनका लागि मात्र दलहरुको केन्द्रीय पदाधिकारीहरुको वैधानिकता कायम हुनेछ । त्यसैले माघ पछि हुने निर्वाचनका लागि नयाँ दल दर्ता गर्नु पर्ने भएकोले सो अगावै संविधान बमोजिम प्रदेश र केन्द्र तहको कार्यसमितिको निर्वाचन गर्न काँग्रेस, नेकपा माओवादी, नेकपा एमाले, राप्रपा लगायतका दललाई दबाब परेको छ ।
यो वैधानिक संकट टार्न पनि महाधिवेशन गरेर कार्य समितिहरुको नामावली बुझाउन पर्ने भएकोले काँग्रेसको महाधिवेशन अब टार्न नसकिने विन्दुमा पुगेको हो ।
प्रतिक्रिया